चितवन, चैत्र ३० । चितवनको भरतपुर अस्पतालमा फागुन र चैत महिनामा गरी ११ जना सर्पदंशका बिरामीले उपचार गराएका छन्।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गर्मी महिना सुरु भएसँगै सर्पदंशका बिरामी अस्पताल आउन थालेका हुन्। अस्पतालमा नवलपरासीका तीन, चितवनका चार, धादिङका दुई, लमजुङका दुई जनाले उपचार गराएका छन्। उपचार गराउन आएका मध्ये ६ जना महिला र ५ जना पुरुष छन्। उनीहरु मध्ये एक जनालाई आइसीयूमा राखेर एन्टिस्नेक भेनम दिइएको सूचना अधिकारी पौडेलले बताए।
अस्पतालमा गत वर्ष २०७५ मा ४४ महिला र ४६ पुरुष गरी ९० जना सर्पदंशका बिरामीले सेवा लिएका थिए। गत वर्ष सबैभन्दा बढि ४१ जना नवलपरासीका थिए भने बाँकी अन्य जिल्लाका थिए। अस्पतालले सर्पदंशका बिरामीको उपचारका लागि भनेर चार बेड छुट्याएको छ। गत वर्ष अस्पतालमा आएका बिरामी मध्ये कसैले पनि ज्यान नगुमाएको सूचना अधिकारी पौडलको भनाइ छ।
चितवन मात्रै नभएर अन्य वरपरका जिल्लाबाट समेत सर्पले टोकेका बिरामीहरुलाई उपचारका लागि भरतपुर अस्पतालमा नै ल्याउने गरिएको छ। बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, लमजुङ, रुपन्देही, तनहुँ, गोरखा, कपिलवस्तु, र नवलपरासीबाट सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन्।
जाडोयाम मंसिर, पुस, माघ र फागुनमा सर्पदंशका बिरामी आएको पाइँदैन। बाँकी ८ महिनामा उपचार लिन आउने गरेका छन्।
गर्मी समयमा अस्पतालमा दैनिक १० जनासम्म सर्पले टोकेको बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालले सर्पदशंका बिरामीलाई लक्षित गरी अब्जरभेसनमा १ वटा वेड, एचडीयूमा १ वटा वेड र अइसीयूमा २ वेड छुट्टाएको छ। बिरामीको शरीरका महत्वपूर्ण अंगहरु फेल नहुन भनेर आइसीयूमा राख्ने गरिएको सूचना अधिकारी पौडेलले बताए।
उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम अस्पतालले बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ। अहिले अस्पतालमा भेनमको अभाव नरहेको सूचना अधिकारी पौडेलले जानकारी दिए।


























