चितवन, चैत्र ३० । पर्यटकीयस्थल चितवनकै सबैभन्दा अग्लो स्थान सिराइचुलीडाँडामा हरेक नयाँ वर्षमा लाग्ने मेला यस वर्षको नयाँ वर्ष २०७७ मा आयोजना नहुने भएको छ। विश्वव्यापी माहामारीका रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको प्रभावका कारण यस वर्ष मेला आयोजना नहुने भएको हो।
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीडाँडा समुद्री सतहदेखि करिब एक हजार ९४५ मिटरको उचाइमा छ। यहाँबाट बिहानी सूर्योदयसँगै तराईका फाँटहरुका साथै हिमालका आकर्षक दृश्यहरु हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको थियो। हरेक वर्ष वैशाख १ गतेका दिन भव्य मेलासमेत लाग्ने भएका कारण नयाँ वर्षका दिन यहाँ आउनेको भीड थामिनसक्नुको हुने गथ्र्यो।
यतिबेला देश लकडाउनको अवस्थामा रहेको र कोरोना सङ्क्रमणमा सजगता अपनाउनुपर्ने भएकाले मेला स्थगन गरी सिराइचुलीडाँडामा कसैलाई पनि प्रवेश गर्न नदिइने भएको वडाध्यक्ष नन्दलाल गिरीले बताए। यसका लागि सिराइचुली प्रवेश गर्ने हरेक नाकामा आगन्तुक रोक्नका लागि स्थानीय गाउँटोलीवासीसँग आवश्यक समन्वय भइरहेको उनले बताए।
गत वर्ष नयाँ वर्षका दिन करिब एक हजार ५०० सिराइचुली अवलोकनका लागि आएको पनि वडाध्यक्ष गिरीले जानकारी दिए। यहाँ चितवनलगायत छिमेकी जिल्ला धदिङ र गोरखाबाट समेत मेला हेर्न आउने गरेको अध्यक्ष गिरीले बताए। पछिल्लो समय नयाँ वर्षको मेलाबाहेक अन्य दिनमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको पनि उनले बताए। यसैबीच गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गाउँपालिकाभित्र हुने सम्पूर्ण मेला महोत्सव आयोजना गर्न रोक लगाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन्। रासस
–––


























