जुम्ला, चैत्र २९ । जुम्लामा राहतको नाममा म्याद नाघेको नुन वितरण भएको पाइएको छ। लकडाउनले मर्कामा परेका विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तु राहत वितरण गर्ने क्रममा हिमा गाउँपालिकाले म्याद नाघेको नुन वितरण गरेको हो।
गाउँपालिकाले राहतको नाममा म्याद नाघेको नुन दिएको भन्दै उजुरी परेपछि त्यस्तो नुन वितरण गर्न स्थानीय प्रशासनले रोक लगाएको छ। म्याद नाघेको नुन वितरण भएको मौखिक र लिखित उजुरी परेपछि वितरण नगर्न निर्देशन गरिएको जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन्।
हिमा गाउँपालिका– १ का नरेन्द्र विक र बबरजंग शाहीले राहतमा पाएको नुनको उत्पादन मिति क्रमशः २०१६ र २०१७ उल्लेख छ। प्याकेटमा दुई वर्षसम्म मात्र नुन प्रयोग गर्न मिल्ने उल्लेख भएकाले वितरणमा रोक लगाइएको शाहीले बताए।
गाउँपालिकाले वितरण गरेको नुनकै कारण सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने सम्भावना देखिएकाले वितरणमा रोक लगाइएको उनले बताए।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले राहत वितरण गर्ने क्रममा म्याद नाघेको नुन भेटिएको स्वीकार गरे।
साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड जुम्लाका प्रमुख खगेन्द्र मल्लले नुन प्लाष्टिकको प्याकेटमा हुने भएकाले म्याद सकिए पनि आयोडिन उडेर जाने सम्भावना नहुने दाबी गरे।
गाउँपालिकाले लकडाउनको मारमा परेका स्थानीयलाई चामल र नुन वितरण गरेको छ। गाउँपालिकाले म्याद नाघेको नुन बाँडेको भन्दै स्थानीय प्रतिभा शाहीले प्रशासनमा लिखित उजुरीसमेत दिएकी छन्।


























