मकवानपुर, चैत्र २८ । मकवानपुरको गढी गाउँपालिका–६ डुम्रेकुना बस्ने पुन्यराज पाठकको घर र गोठमा आगलागी हुँदा करिब १९ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको छ। घर नजिकै रहेको शंखेश्वरी सामुदायिक वनमा लागेको डडेलोबाट उनको घर तथा गोठमा आगलागी भएको हो।
रौतहटको देवाहीगोनाही नगरपालिका–१ करुनिया टोल बस्ने फिरोज अन्सारीको घरको चुल्होबाट निकाली राखेको खरानीबाट आगो सल्किन गई छिमेकी फिरोज अन्सारीलगायत आठ जनाको घरमा जलेर नस्ट भएको छ। बिहीबार राति आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको हो।
त्यस्तै, धादिङको बेनिघाटरोराङ गाउँपालिका–७ चरौदीस्थित रामबिनोद साहको मोटरसाइकल ग्यारेजमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भएको छ।
नम्बर नखुलेको २ वटा मोटरसाइकल र अन्य सामानहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४ खम्बे बस्ने जोगिन्दर नाउ लगायत ४ जनाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल खरानी भएको छ।


























