काठमाडौं, चैत्र २६ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक समेत रहेका अग्रवालमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार म्याद थप गरेको हो। स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल मंगलबार दिउँसो नक्सालबाट पक्राउ परेका थिए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अग्रवाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएका हुन्। व्यवसायी अग्रवाललाई स्वास्थ्य परीक्षण गरी महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको छ।
५ हजार पर्ने गनलाई १५ हजारमा बिक्री गरेको आरोप अग्रवालमाथि छ। कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग समेत गरेका थिए। प्रहरीले २०९८ सीसी वान नम्बरको गाडी पनि बरामद गरेको थियो।


























