काठमाडौं, चैत्र २६ । कोरोना (कोभिड १९) भाइरसबाट संक्रमित भई विभिन्न अस्पतालमा उपचाररत आठ जनाको कन्ट्याक्ट ट्रेसिङ पूरा भएको छ।
स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा कोरोना संक्रमित आठ जनाकै कन्ट्याक्ट ट्रेसिङ सकिएको जानकारी दिएका छन्।
‘धनगढीमा दुई, बागलुङमा दुई र टेकु अस्पतालमा रहेका दुई गरी आठ संक्रमित केसहरुको डब्ल्युएचओको मापदण्ड अनुसार गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न भइसकेको छ’, प्रवक्ता देवकोटाले सुनाए।
दुई हजार ३६६ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएनन्
नेपालमा हालसम्म दुई हजार ३६६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा नयाँ संक्रमित देखिएका छैनन्।
देवकोटाका अनुसार हालसम्म काठमाडौं उपत्याकाभित्र एक हजार ९६५ जनाको र उपत्यका बाहिर ४०१ जनाको कोरोना भाइरस परीक्षण भएको छ। उपत्यका र उपत्यका बाहिर गरी दुई हजार ३६६ जनाको परीक्षण भएको हो। मन्त्रालयले नमुना परीक्षणको कामलाई विस्तार गरेको पनि देवकोटाले बताएका छन्।
नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भइसकेका छन्। अस्पतालमा उपचाररत आठ जनाको अवस्था पनि सामान्य रहेको डा. देवकोटाले जानकारी दिएका छन्।


























