मोरङ, चैत्र २६ । लकडाउनमा सीमावर्ती क्षेत्रमा कडाइ गर्न सुरक्षापोष्ट थपिने बित्तिकै मध्यरातमा नेपाल प्रवेश गर्ने व्यक्ति पक्राउ परेका छन्। मोरङको धनपालथान ३ मायागञ्ज नाका हुँदै नेपाल प्रवेश गरेका भैयो हस्दा (३५) लाई गएराति १० बजे सशस्त्र प्रहरीले पक्राउ परेको छ।
सोमबार स्थापना गरिएको अस्थायी सुरक्षा पोष्टले हस्दालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरी चौकी कर्सियाका नायब निरीक्षक देवीप्रसाद अधिकारीका अनुसार, सीमापारि भारत तर्फको कुवाडी बजारमा मजदुरी गर्ने हस्दा नेपाल प्रवेश गर्ने बित्तिकै पक्राउ परेका हुन्। धनपालथान ३ टकुवाडाँडा निवासी हस्दा लकडाउन हुनु अघिदेखिनै भारतमा थिए।
हस्दालाई स्वास्थ्य चौकी कर्सियामा क्वारेन्टिनमा राखिएको छ। वडा अध्यक्ष रोशन राजवंशीका अनुसार कर्सिया स्वास्थ्य चौकीलाई क्वारेन्टिन बनाएपछि राखिएका हस्दा पहिलो व्यक्ति हुन्।
खुल्ला सिमानाका कारण सीमावर्ती क्षेत्रमा दुवै देशका नागरिक आवतजावत गर्न थालेपछि सुरक्षा पोष्टहरु थपिएको छ।
सशस्त्र प्रहरीले मोरङको भारतीय सीमाको ६३ किलोमिटरमा ३६ वटा अस्थायी सुरक्षापोष्ट राखेको छ। त्यस बाहेक सशस्त्रका ७ वटा स्थायी सुरक्षा कार्यालयले सीमामा निगरानी गर्दै आएको छ।
सीमामा मानिसको आवतजावत बढेको गुनासो आएपछि सुरक्षा पोष्ट थप गरेर २४ सै घण्टा निगरानी बढाइएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले बताए।


























