चैत्र २४ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी-ट्वान्टी विश्वकप निर्धारित समयमै हुने जनाएको छ।
यसै वर्ष अष्ट्रेलियामा टी-ट्वान्टी विश्वकप आयोजना हुँदैछ। अष्ट्रेलियाले गत महिना महिला टी-ट्वान्टी विश्वकपको सफल आयोजना गरेको थियो।
पुरुष विश्वकप समेत अष्ट्रेलियामा अक्टोबर १८ देखी नोभेम्बर १५ सम्म आयोजना हुने तालिका छ। तर, विश्वभर त्रासको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वको खेलकुद स्थगित भएका छन्।
त्यसैले पुरुष टी-ट्वान्टी विश्वकप समेत सार्ने गृहकार्यमा आईसीसी लागि परेको अफवाहरु सार्वजनिक भएको थियो। तर, आईसीसीले हालै एक विज्ञप्ति जारी गर्दै समयमै विश्वकप गराउने तयारी भएको बताएको छ।
स्थानीय आयोजक समितिले प्रतियोगिताको तयारी गरिरहेको र समितिसँग आईसीसीले निरन्तर छलफल गरिरहेको बताएको छ।
ुकोरोनाको महामारीमा स्थानीय आयोजक समितिले कदम चालिरहेको छ,’ आईसीसीले भनेको छ, ‘समयमा प्रतियोगिता गराउने अभ्यास चलिरहेको छ। सबै स्थानीय आयोजक समितिले पठाउने रिपोर्टमा विश्वकप आधारित हुन्छ।’
यस्तै सन् २०२१ मा भारतले समेत आईसीसी टी-ट्वान्टी विश्वकप आयोजना गर्दैछ। लगातार एकै प्रतियोगिता रहेको कारण आउने वर्ष दुई प्रतियोगिता आयोजना हुने छैन।
त्यसैले आईसीसी समयमा नै विश्वकप आयोजना गर्ने लक्ष्यमा रहेको छ। यदी प्रतियोगिता स्थगित भयो भने सन् २०२२ को लागि सर्ने पक्का छ।
हालसम्म अष्ट्रेलियामा ५ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भेटिएको छ। यस्तै भाईरसको कारण ३९ मानिसको मृत्यु समेत भएको छ। एजेन्सी