धादिङ, चैत्र २४ । फाटेको पुरानो अनि मयल परेको लुगा। धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ हिँडेका अवस्थामा भेटिनुभयो २१ वर्षीया सानुमाया चेपाङ।
बेनीघाटरोराङ गाउँपालिका–६ ममाङकी सानुमाया गाउँमा कोरोनाको त्रास बढे पनि बाँच्ने आशामा गाउँ घुम्न बाध्य भएकाछन्। केही दिनअघि घर आगलागी भयो। खरको छानाको घर जलेर नष्ट भयो। ज्याला गरेर ल्याइएको अन्न र घरमा भएको लुगा सबै जल्यो। घरमा खानेकुरा भएन। बुमराङ गाउँमा भेटिनु भएकी सानुमाया काखमा एक महिनाको शिशु बोकेर खानेकुरा माग्दै हिँडेकीहुन्। उनका दुई शिशु घरमा नै छन्। उनका श्रीमान् घरमा तिनलाई कुरेर बसेकाछन्।
एक हलको मेलो जग्गाले उनीहरुलाई खान पुग्दैन, ज्याला गरेर खानुपर्छ। कोभिड –१९ को त्रास फैलिएका बेला गाउँमा समेत काम नपाएपछि सो परिवार समस्यामा परेको हो। गाउँमा मागेको खानेकुराले परिवार पालिएको सानुमायाले राससलाई बताए।
खरको छानो भएको घरभित्र एक डोको मकै, खाना पकाइने भाँडा र लगाइने लुगा समेत एकसरो पुरानो मात्र रहेको ३० वर्षीया सोल्टीमाया चेपाङको परिवार छुट्टै समस्याले गाँजिएको छ। खोरियाबारी। ज्याला गरेर बाँच्नु पर्ने अवस्थाको परिवार। श्रीमान् ६० वर्षका भए। हाल उनीसँंग सात जनाको परिवार छ। खानबस्न समस्या छ। दादुराका कारण थलिएकी छोरी कोरोनाको त्रासका कारण उपचार नपाएर आँगनमै बसिरहेकी छन् समस्यामाथि समस्या आएको चेपाङ परिवार बाँच्नका लागि हरेक दिन संघर्ष गरिरहेछ। कोरोना भाइरसको जोखिमले लकडाउन भएपछि काम नपाइएकाले आफूहरु थोरैथोरै खोले खाएर बसिरहेको सोल्टीमायाले बताए।
चेपाङ गाउँका यी प्रतिनिधिमूलक परिवार हुन्। गाउँमा समेत काम नपाएपछि उनीहरु जस्तै बुमराङका सात परिवार, बुङपुङ तार्केटारका पाँच परिवार र रोतेसका सात परिवार खानेकुरा सकिएर समस्यामा परेको वडाध्यक्ष देवकृष्ण आलेले बताए।
यो हालको समस्याले बढी समस्यामा परेको भए पनि खोरियाबारी अनि थोरै अन्नले परिवार पाल्दै आएको यस क्षेत्रमा २२० घर चेपाङ संघर्षपूर्ण तरिकाले बाँचिरहेका छन्। रासस

























