काठमाडौं, चैत्र २४ । परीक्षाको तयारीमा बसेका कक्षा ११ र १२ का विद्यार्थी यतिबेला अन्योलमा छन्। परीक्षा कहिले हुने भन्नेबारे राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि सूचना तथा जानकारी नदिएकाले विद्यार्थीमा अन्योल छ।
तर राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सर्ने नसर्ने भन्नेबारे कुनै पनि निर्णय गरेको छैन। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा नयाँ मिति तोक्नेबारे कुनै पनि निर्णय नभएको बताए।
यसअघि कक्षा १२ को परीक्षा बैशाख ८ र कक्षा ११ को परीक्षा बैशाख २१ गतेका लागि तोकिएको थियो। कोरोना संक्रमणका कारण लकडाउन भएपछि यो मितिमा हुने नहुने अन्योल छ।
लकडाउनको अवधि अझै थप्ने सरकारको तयारी छ।
बोर्डका अध्यक्ष पौडेलले भने, ‘अहिलेसम्म कुनै निर्णय भएको छैन, अहिलेलाई पहिलाकै निर्णय यथावत छ, यदि अन्य निर्णय भएमा सूचना आउँछ।’
पौडेलले भने, ‘अहिले पर्ख र हेरको अवस्थामा छौँ। तर विद्यार्थीले परीक्षाको लागि तयारी चाहिँ गरिराख्नुपर्छ।’
यसअघि गत चैत ६ गते सुरु गर्ने भनिएको माध्यामिक शिक्षा परीक्षा एसईई परीक्षा हुने भन्दा एक दिन अघिमात्रै स्थगित गरिएको थियो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एसईईको निर्णय भने लकडाउन खुलेपछि मात्रै हुने र परीक्षाका लागि विद्यार्थीलाई समय दिइने बताए।


























