चैत्र २४ । चिरप्रतिद्वन्दी क्लब क्लब ईन्टर मिलानका फरवार्ड मौरो ईकार्डीलाई अनुबन्ध गर्नमा एसी मिलानले चासो देखाएको छ। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा लोनमा खेलिरहेका ईकार्डीलाई अनुबन्ध गर्न एसी मिलान लालायित देखिएको हो।
पेरिसमा रहेका ईकार्डी आफैपनि लोनमा पीएसजी बस्न अनिच्छुक छन्। उनी ईन्टर मिलानबाट लोनमा पीएसजी गएका थिए। ईन्टर मिलानमा खासै चम्किन नसकेका ईकार्डीले पीएसजी पुगेर लय भेट्टाएका छन्।
पीएसजीसंग ईकार्डी किन्न सक्ने विकल्प समेत छ। तर क्लबका फरवार्डनै लिग वान क्लबमा बस्न चाहदैनन्। अर्जेन्टिनी फरवार्डले यस सिजन सबै प्रतियोगितामा २० गोल गरेका छन्।
फ्रान्सेली क्लबलाई ६३ मिलियन पाउण्डमा ईकार्डी अनुबन्ध गर्न सक्ने विकल्प छ। तर ईकार्डीले पीएसजीमा बस्ने कुनै योजना बनाएका छैनन्। युभेन्ट्सले समेत अर्जेन्टिनी फरवार्डसंग जोडिएको थियो। तर ईकार्डी अनुबन्धको छलफल टुङ्गोमा पुग्न सकेन।
रिपोर्टहरुका अनुसार मिलान क्लब ईकार्डी अनुबन्धमा प्रयास गरिरहेको छ। अर्जेन्टिनी फरवार्डलाई लिन एसी मिलानले ठुलो रकम खर्च गर्नुपर्नेछ। क्लब उनीमाथि तोकिएको रकम तिर्न तयार समेत देखिएको छ। एजेन्सी


























