काठमाडौं, चैत्र २३ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न संस्था तथा व्यक्तिहरुले योगदान गरिरहेका छन्। सरकारले कोरोनाको संक्रमण बढ्दै गएपछि सोको उपचार तथा रोकथामका लागि ५० करोड राखेर कोष स्थापना गरेको थियो।
हालसम्म सो कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट एक अर्ब १८ करोड ९५ लाख १० हजार ८८६ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सहसचिव राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।
अस्ति शुक्रबारमात्रै कोषमा विभिन्न संघसंस्थाले ९ करोड ६९ लाख ८८ हजार ३०० रुपैयाँ जम्मा गरेको थिए। कोष सञ्चालनका लागि निर्देशिका जारी गरिएको र कोषको लेखापरीक्षण महालेखा नियन्त्रकको कार्यालयले गर्ने भएकाले रकम हिनामिना नहुने दाबी सहसचिव पौडेलले गरे। कोष सञ्चालक समितिको अध्यक्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहनेछन् भने सदस्यहरुमा विभिन्न मन्त्रालयका सचिवहरु रहनेछन्।
यी हुन् हालसम्मका ठूला दाता
नेपाल आयल निगम– ५० करोड
नेपाल दूरसञ्चार प्राधिकरण– १५ करोड
नेपाल टेलिकम– १२ करोड
एनसेल– १० करोड
बिमा समिति– ५ करोड
कर्मचारी सञ्चय कोष– ५ करोड
नेपाल धितोपत्र बोर्ड– ३ करोड
कर्जा तथा निक्षेप सुरक्षण कोष– ३ करोड
नेपाल स्टक एक्सचेन्ज– ३ करोड ५१ लाख
नागरिक लगानी कोष– २ करोड