चितवन, चैत्र २२ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेपछि चितवनमा रगतको अभाव देखिन थालेको छ। लकडाउनले रगत सङ्कलनमा समेत समस्या आएपछि रगतको अभाव देखिन थालेको हो।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार लकडाउनपछि चितवनमा रक्तदानका कार्यक्रम हुन भएका छैनन्। त्यसको प्रत्यक्ष असर रगत सङ्कलनमा परेको क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेलले बताए।
कुनै पनि औपचारिक कार्यक्रम गर्न नमिल्ने भएपछि रक्त सञ्चार केन्द्रले घरघरबाटै रक्तदाताहरूलाई भरतपुर सम्म ल्याएर रगत दान गर्ने व्यवस्था मिलाएको पौडेलले जानकारी दिए। रक्तदाता आवतजावतका लागि नेपाल रेडक्रस सोसाइटी चितवनको एम्बुलेन्स प्रयोग गरिँदै आएको छ। जिल्लाका सामाजिक अगुवाहरू तथा रेडक्रस सोसाइटिका उपशाखाहरू मार्फत रक्तदाता खोजी गरेपछि घरबाटै ल्याउने, पुर्याउने व्यवस्था मिलाइएको क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख पौडेलले बताए।
अहिले दैनिक १० जना सम्म रक्तदाताहरूले रगत दान गरिरहेका छन्। हामीले सामाजिक अगुवा र उपशाखाहरूलाई अनुरोध गरेका छौ, सोही अनुरोधका आधारमा रक्तदाता जम्मा हुन्छन् प्रमुख पौडेलले भने, ‘उहाँहरूलाई सुरक्षित साथ घरबाटै ल्याउने र पुन घरै पुर्याउने व्यवस्था मिलाएका छौ।’ चितवन देशमै मध्य भागमा रहेकाले यहाँ सधैँ रगतको अभाव हुने गरेको छ। यहाँ भरतपुर अस्पताल, दुई मेडिकल कलेज, क्यान्सर अस्पताल लगायत अन्य धेरै अस्पतालहरू भएकाले रगत माग अत्यधिक हुने गरेको छ।
सडक दुर्घटनाका कारण भएका घाइतेहरूलाई रगतको आवश्यकता पर्ने भए पनि अहिले सवारी साधन नचलेकाले त्यस्ता दुर्घटनाका बिरामी छैनन्। तर लडेर घाइते भएका,मेजर अप्रेसन गर्नेहरू अहिले पनि नियमित रहेकाले त्यस्ता बिरामीका लागि रगत खपत भइरहेको पौडेलले बताए। उनका अनुसार क्यान्सर भएका बिरामी, डायलायसिस गर्नु पर्ने बिरामी, अल्सरका बिरामी, सुत्केरी बिरामीका लागि रगत खपत भइरहेको छ। लकडाउन अघि दैनिक १५० युनिट रगत खपत हुने गरेता पनि अहिले सरदर ३५ युनिट रगत खपत भइरहेको पौडेलले जानकारी दिए।
लकडाउनको चैत १९ गते सम्मको अवधिमा १ सय २९ युनिट रगत सङ्कलन भएकोमा ३ सय ५२ युनिट वितरण भएको छ। स्टक रगत भएकाले वितरण सङ्ख्या धेरै देखिएको उनले बताए। बिहीबार मात्रै १३ जनाले रक्तदान गरेका छन्। रगतको अभाव पूर्ति गर्नका लागि परीक्षणको रूपमा माडी नगरपालिकासँग सहकार्य गरेर त्यहाँको रेडक्रसले घुम्ती शिविर सञ्चालन गर्न लागेको क्षेत्रीय रक्त सञ्चार केन्द्रले जनाएको छ।