काठमाडौं, चैत्र २२ । शनिबार राष्ट्रिय प्रयोगशालामा भएको परिक्षणमा तीन जनामा कोरोना संक्रमण देखिएको छ। तीन जनामध्ये दुई जना पुरुष भारतबाट नेपाल आएका हुन् भने एक महिलाको नेपालमै थिइन्।
शनिबार देखिएको तीन वटा संक्रमण मध्येमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा कोरोना संक्रम्ण देखिएको हो भने महिला भने दुबईबाट फर्किएपछि संक्रमण देखिएका चौथा संक्रमित व्यक्तिको परीवारिक सदस्य हुन्।
अयातित मात्रै संक्रमणहरू देखिरहेको बेला नेपालमा पहिलो पटक देशभित्रै संक्रमित व्यक्ति भेटिनुले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा पुगेको देखाएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मत्रालयको मिडिया ब्रिफिङ्गमा प्रवक्ता विकास देवकोटाले भने, ‘लोकल ट्रान्सिमिसनसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ।’
पहिलो चरणको अर्थ आयातित केस मात्रै हो। विदेशबाट आएका वा अन्य कुनै देशमा यात्रा गरेर आएका मानिसमा संक्रमण देखिदाँ त्यसलाई पहिलो चरणको रुपमा लिइन्छ। शनिबारभन्दा अगाडि नेपालमा भेटिएका ६ वटै संक्रमित विदेशबाट आएका थिए। शनिबार गरिएको परीक्षणमा भने नेपाल भित्रैकै महिलामा पनि संक्रमण देखिएको छ। प्रवक्ता देवकोटाले भने, ‘नर्वौ संक्रमितसँगै हामीले दोस्रो चरण पुगेका छौँ। परीक्षणको दायरा फराकिलो बनाउनेसँगै अन्य सावधानी अपनाउनुपर्ने देखिएको छ।’
हालसम्म नेपालमा ९ जना संक्रमित भेटिएका छन्। जसमध्ये एक जना निको भइसकेका छन भने अन्यको उपचार भइरहेको छ। शनिबार भेटिएका तीनै जना संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारारत छन्। प्रवक्ता देवकोटका अनुसार हाल नेपालभर लक्षण देखिएका ६९ जना आइसोलेसनमा छन भने १ हजार ४ सय ४१ जनाको परिक्षण भएको छ।