बेइजिङ, चैत्र १८ । चीनको दक्षिणपश्चिम क्षेत्रस्थित जंगलमा लागेको डढेलो निभाउने क्रममा १९ जनाको मृत्यु भएको छ।
तीमध्ये १८ जना अग्निनियन्त्रक र एकजना वन रक्षक भएको बताइएको छ। स्थानीय टेलिभिजनले समेत आगलागीको भिडिओ सार्वजनिक गरेको छ। सिचुआन प्रान्तको छिचांग सहरनजिकैको पहाडमा डढेलो लागेको हो।
सथानीय टेलिभिजनले देखाएका भिडिओमा पहाडमाथिको आकासको रंग नै पहेँलो देखिएको छ। यहाँको आगलागीबाट उत्पन्न वायु प्रदुषणले कम्तिमा ७ लाख मानिसलाई असर पुग्ने बताइन्छ।
आगो निभाउन १ सय ४० वटा अग्नि नियन्त्रक उपकरण, चार हेलिकप्टर र झण्डै ९ सय जना अग्निनियन्त्रक खटिएको स्थानीय अधिकारीहरुले जनाएका छन्। जम्मा गरी २ हजार भन्दा धेरै आपतकालिन कामदार उद्धारमा खटिएका छन्। आगलागीका कारण १ हजार २ सय भन्दा धेरै स्थानीयलाई विस्थापित गरिएको छ। गत अप्रिलमा यस्तै प्रकृतिको आगो निभाउने क्रममा २७ अग्नि नियन्त्रकको मृत्यु भएको थियो। एजेन्सी


























