वासिंटन, चैत्र १७ । मलेरियाविरुद्धका दुई औषधि कोरोना भाइरस संक्रमितका लागि आपतकालिन रुपमा प्रयोग गर्न मिल्ने भएको छ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन निकायले यस्तो ती औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न स्वीकृति दिएको हो। आइतबार विज्ञप्ति जारी गर्दै अमेरिकी स्वास्थ्य तथा मानवसेवा विभागले यस्तो जानकारी दिएको हो। विभागले क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन सहित राष्ट्रिय भण्डारमा रहेका औषधिबारे विवरण सार्वजनिक गरेको छ।
क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन दुबै औषधि कोभिड १९ विरुद्ध प्रयोग हुनसक्ने बारेमा अनुसन्धान पनि भइरहेको छ। एफडिएका अनुसार ती मलेरियाका औषधिलाई चिकित्सकको अनुमनिमा अस्पतालमा भर्ना गरिएका किशोरकिशोरी र वयष्कका लागि क्लिनिकल परीक्षण सम्भव नभएको वा उपलब्ध नभएको अवस्थामा यसको प्रयोग गर्न सकिने स्वीकृति मिलेको हो।
ट्रम्पले गत साता यी दुई औषधि ‘परमेश्वरको उपहार’ हुनसक्ने भन्दै यसका लागि स्वीकृति मिलिसकेको प्रतिक्रिया दिएका थिए।
सरुवा रोग विशेषज्ञ एन्थोनी फौकी सहित धेरै अनुसन्धाताहरुले वृहद क्लिनिकल परीक्षण नगरेसम्म आम नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ४० हजार भन्दा धेरै पुगिसकेको छ। साथै मृत्यु हुनेको संख्या २ हजार ४ सय ८९ पुगेको छ।


























