काठमाडौं, चैत्र १७ । कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जनाको मृत्यु भएको छ। धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माका अनुसार बिरामीको मृत्यु कोरोना कै कारण भएको हो वा होइन भन्ने पुष्टि भएको छैन। भारतीय सेनामा काम गर्दै आएका ती बिरामीलाई दुई दिनदेखि ज्वरो आएपछि आइतबार दिउँसो पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
अस्पताल भर्ना भएका ती बिरामीको कोरोना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उनको रिपोर्ट आउन भने बाँकी छ। यसअघि आइतबार मात्रै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा कोरोना आशंका गरिएका एक जनाको मृत्यु भएको थियो।
उनको रिपोर्टपनि हालसम्म नआएका कारण मृत्युको कारणबारे स्पष्ट हुन सकेको छैन।


























