काठमाडौं, चैत्र १५ । कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन भएपछि देशभर ब्रोइलर कुखुराका चल्लाको उत्पादन ठप्प भएको छ।
११ चैतदेखिको लकडाउनका कारण ह्याचरी उद्योगबाट चल्लाको उत्पादन ठप्प भएको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए। किसानले चल्ला लैजान छोडेपछि हाल देशभर रहेका झण्डै एक सय ह्याचरी उद्योगले पचल्ला उत्पादन गर्न छोडेका हुन्।
लकडाउनका कारण देशभर व्यवसायीक कुखुरापालकले कुखुराको उत्पादन गर्न पनि छोडेका छन्। अहिले फार्ममा भएका कुखुराले अबको करिब एक महिना धान्ने र एकमहिनापछि नेपालमा ब्रोइलर कुखुरा सकिने विष्टले बताए।
लकडाउन भएपनि सरकराले पशुपन्छी तथा माछाको दाना, चल्ला, पशुपन्छी जन्य उत्पादन ढुवानी भने सहज नै बनाएको छ। ‘शुरुमा ढुवानीमा कडाई भएपछि ति कुखरा मारिए, कति डम्प गरिए, तर शुक्रबारदेखि भने सहज भएको छ’, विष्टले भने। ‘
अहिले कुखुरा उत्पादन भएपनि मासु बिक्री गर्न समस्या हुने भएकोले अब लकडाउन हटेपछि कुखुराको उत्पादन शून्यबाट नै सुरु गर्नुपर्ने कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर विसीले बताए। ‘भारतबाट कुखुरा आउन रोकिएको भने नेपालकै कुखुरा पनि बिक्री भएको अवस्था छैन’, उनले भने, ‘होटल, रेष्टुरेन्टलगायत पर्यटन क्षेत्रका सेवा व्यापारहरु नै ठप्प बनेको र आम उपभोक्ताले समेत मासु खान कम गरेका कारण हाल कुखुराको मासुको व्यापार निकै खुम्चिएको छ।’


























