नवलपरासी, चैत्र १२ । लकडाउनका कारण सीमा नाका बन्द भएकाले भारतीय नागरिकहरु डुङ्गा चढेर नारायणी नदी हुँदै नेपाल प्रवेश गरेको पाइएको छ।
लकडाउन भएको समयमा सुस्ता गाउँपालिका–३ रेवाका रमाकान्त विनले भारतीयह नागरिकलाई डुङ्गाबाट नारायणी नदी पार गराउँदै नेपालतर्फ ल्याएका हुन्। ती भारतीयहरु बिहार राज्यको पश्चिम चम्पारन बाल्मिकीनगर बगाहास्थित चुलभट्टा जंगलको बाटो हुँदै नारायणीमा डुङ्गा तरेर रेतामा रहेको ए ग्याप बाँधबाट बन्धा टोलमा प्रवेश गरेको सुस्ता–५ बन्कट्टीकी उमा विनले बताइन्। उमा पनि ती भारतीय नागरिकसँगै नेपाल प्रवेश गरेकी हुन्। उनी छोरीको घर भारतको कुसीनगर गएर फर्किकी हुन्।
उमासँगै रमाकान्तको डुङ्गाबाट पाँचजना भारतीय नागरिक नेपाल प्रवेश गरेका छन्। यसबाहेक रमाकान्तले करिब ३० जना भारतीय नागरिकलाई नेपालतर्फ ल्याएका बताइएको छ। नेपाल प्रवेश गरेका भारतीय नागरिक कहाँ छने भन्ने जानकारी छैन।
डुङ्गामा भारतीय नागरिकलाई नेपाल भित्र्याउने रमाकान्तलाई सशस्त्र प्रहरी सीमा सुरक्षा बल सुस्ता र सीमा सुरक्षा बल विनयी त्रिवेणीले नियन्त्रणमा लिएर मंगलबार राति ९ बजे सुस्ता–२ मा रहेको कुडिया प्रहरी चौकीमा जिम्मा लगाएका थिए। तर, कुडिया चौकीले भने रमाकान्तलाई अमधा घण्टा पनि नराखी छाडेको छ। चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक ओमदेव भाट क्षेत्रीले रमाकान्त नेपाली नागरिक भएकाले छाडेको बताए।
नवलपरासीको भारतसँग सीमा जोडिएका नाकाहरु सिल गरिए पनि नाकाबाहेक क्षेत्रबाट भारतीयहरु नेपाल प्रवेश गर्ने क्रम नरोकिएको सीमा क्षेत्रका स्थानीयहरुले बताएकाछन्।