काठमाडौं, चैत्र १० । सरकारले देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि (मंगलबार) देखि देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको हो।
बैठकले मंगलबारदेखि एक साताका लागि कसैलाई पनि घर बाहिर निस्किन र सवारी पनि चल्न नदिने निर्णय गरेको अर्थ एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। लक डाउन मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुनेछ।
यस्तै, बैठकले औषधि उपचार, खाल्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर नस्किन निर्देशन दिएको छ।
बैठकले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयाग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पनि रोक लगाउने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए।
यसैगरी, सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरुबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने निर्णय बैठकले गरेको उनले बताए।
बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ लाई स्वीकृत पनि गरेको मन्त्री खतिवडाले जानकारी दिए।
यस्तै, स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आजैदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकहरुको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकता अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु परिचालन गरी सुरु गर्ने निर्णय पनि गरेको मन्त्री खतिवडाले जानकारी दिए।
उनका अनुसार त्यसका लागि रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्नेछन्।
