बेइजिङ, चैत्र ९ । कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ। पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ।
क्यानसिनो बायोलोजी कम्पनीले खोप विकास गरेको बताइएको छ। चीन सरकारले अनुमति दिएपछि खोप परीक्षण गरिएको हो। परीक्षणमा सामेल १०८ जना १८ देखि ६० वर्ष उमेर समूहका छन्। उनीहरुलाई तीन समूहमा विभाजित गरेर खोप परीक्षणमा सामेल गरिएको छ।
ती समूहमध्ये एउटा समूहलाई न्यून डोजको खोप दिइएको छ भने दोस्रो समूहलाई मध्यम डोज र तेस्रो समूहलाई उच्च डोजको खोप दिइएको छ। खोप लगाएका सबैलाई कम्तीमा १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ। यसबीचमा उनीहरुको शरीरमा देखिने सकारात्मक तथा नकारात्मक प्रभावलाई अनुसन्धानकर्ताले निरीक्षण गरी खोपको प्रभावकारिताबारे अध्ययन गर्नेछन्।