छत्तीसगढ, चैत्र ९ । भारतको छत्तीसगढस्थित माओवादी प्रभावित सुक जिल्लामा भएको संदिग्ध माओवादी हमलामा सरक्षाबलका १४ जवान घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
छत्तीसगढमा यस वर्ष माओवादीको यो सबैभन्दा ठूलो हमला मानिएको छ। हमलापछि कम्तिमा १७ जवान बेपत्ता भएको बताइएको छ। प्रहरीका अनुसार घना जंगल भएको क्षेत्र भएको कारण आइबार मात्र वस्तुस्थितिको बारेमा यकिन हुने बताएको छ।
प्रहरीका एक अधिकारीले बीबीसीको कुराकानीमा बस्तरमा पछिल्लो समय माओवादीविरुद्ध ‘अपरेशन प्रहार’ नामक विशेष अभियान चलाइएको जानकारी दिए। यही अभियानका लागि शुक्रबार एसटीएफ र डीआरजीका जवानहरुको एक टोली दोरनापालबाट निक्लिएको थियो। बुरकापालमा यो टोलीमा सीआरपीएफका जवान पनि शामिल भएका थिए।
शनिबार दिउँसो चिन्तागुफाा थानाको कसालपाड र मिनपाको बीचमा संदिग्ध माओवादीहरुले सुरक्षाबलको यो टोलीमाथि हमला गरेको थियो। टोली सर्च अपरेशनपछि फर्किरहेका थिए। प्रहरीका अनुसार संदिग्ध माओवादीहरुले सुरक्षाबललाई चारतिरबाट घेरेर कोराज डोङ्गरी पहाडको माथिबाट हमला गरेका थिए।
दुई पक्षबीच केही घण्टाको मुठभेडपछि यस हमलामा घायल केही जवानलाई उनका साथीले घटनास्थलबाट बाहिर निकाल्न सफल भएका थिए। उनीहरुलाई एयरलिफ्ट गरेर राजधानी रायपुरको एक निजी अस्पतालमा भर्ती गरिएको थियो।
कसालपाड त्यही क्षेत्र हो जहाँ सन् २०१४ मा माओवादीको हमलामा परेर सीआरपीएफको २२३ औँ बटालियनका १४ जवान मारिएका थिए।
घना जंगलबाट घेरिएको कसालपाड नजिकै रहेको मिनपा क्षेत्रमा प्रहरीले कयौँ पटक आफ्नो क्याम्प स्थापना गर्ने प्रयास गरे पनि माओवादीहरुको लगातार हमलापछि आफ्नो निर्णय फिर्ता लिन बाध्य बनेका थिए।
छत्तीसगढमा पछिल्लो वर्ष माओवादी हिंसामा कमी आएको थियो। तर, सरकारको तमाम दाबी बीच माओवादीले पुनः आफ्नो शक्ति प्रदर्शन गरेको छ।


























