पूजा परियार, चैत ८ ।
कति कथा लेख्दालेख्दै अक्षरहरू ‘डिलिट’ गरेकी छु । कति कथा लेख्दालेख्दै हातका औँला काँपेका छन् । यस्तै अवस्था भयो अहिले ।
कम्प्युटर अगाडि बस्दा यो कथा लेखौँ कि नलेखौँ दोधारमा थिएँ । जब लेख्न बसेँ लेख्दालेख्दै अक्षरसँगै आँखामा आँसु छचल्किए । सोचेँ, शान्ता घलेको कथा ‘ड्रग्स युजर्स’लाई प्रेरणा बन्नेछ । अनि उनको दर्दनाक कथा शब्दमा उतारेँ ।
एक पटक सरक्क सर्काएपछि दुनियाँ नै रङ्गीन लाग्ने। दुःखलाई दूर बनाउने। आनन्दको निद्रा र शान्तिका लागि शान्ता लागुऔषधको प्रयोगकर्ता बनिन्। कुनै समय ड्रग्स नै उनको साथी बनेको थियो।
नवलपरासी गैँडाकोट घर भएकी शान्ताको १३ वर्षको उमेरमा विवाह भयो। परिवारमा १ छोरा र ४ जना छोरीमध्येकी साहिँली छोरी उनी। हुनेखाने परिवारबाटै विवाहको प्रस्ताव आएपछि १३ वर्षकै उमेरमा विवाह गर्न बाध्य भइन्।
उनको परिवारमा त्यतिबेला आर्थिक अवस्था कमजोर थियो। पढेलेखेका थिएनन् बुबाआमा, जसका कारण उनले औपचारिक शिक्षासम्म पढ्न पाइनन्।
चितवनको नारायणगढ बजारमै घर भएका अनि सुन पसल नै आम्दानीको मुख्य स्रोत भएको परिवारकी बुहारी बनिन् शान्ता। श्रीमानले पनि निकै माया गर्थे उनलाई। विवाह गरकै वर्ष उनी आमा बन्ने भइन्।
आमा बन्ने खबरले शान्ताको मुहारमा दीप्ति छायो।
जीवन हाँसीखुसी नै चलिरहेको थियो। १८ वर्ष मात्र पुगेकी थिइन्, उनी ३ सन्तानकी आमा बनिन्। समय आफ्नै लयमा चलेको थियो। जन्म र मृत्यु शाश्वत् नियम हुन्। यो सबैले भोग्नै पर् । ढिला चाँडो मात्र हो।
त्यो दिन पनि शान्ता आफ्नै काममा व्यस्त थिइन्। सुन पसलबाट खबर आयो, तिम्रा श्रीमान् रहेनन्।
शान्ता मुर्छित भइन्।
केहीबेरअघिसम्मको उनको खुसी एकाएक दुःखमा बदलियो। सफा आकाशमा कालो बादल मडारियो। श्रीमानको मृत्युपछि शान्ताको जीवनको लय नै बदलियो।
कलिलो उमेर, श्रीमान् गुमाउनुको पीडा, काखमा ३ छोरा, उनीहरूको जिम्मेवारी अनि घरपरिवार र समाजले विधवा भनेर गरेको दुव्र्यवहार। कहाँ जाने, के गर्ने ? उनको मनमा दुःखको युद्ध चल्यो।
शान्ता निराश हुन्छिन्।
घर परिवारदेखि समाजले अनेकथरी उपनाम दिन थाले, कसैले लोग्ने टोकुवा, कसैले अलच्छिनी आदि इत्यादि। श्रीमान गुमाउनुको पीडा एकातिर, काखमा अबोध छोराहरू, घरपरिवारको सहनै नसक्ने बचन। न दिनमा भोक, न त रातमा निद्रा। न कसैको सहयोग, न त कसैको साथ।
बेचैन मन। कयौँ रात तन्द्रामै बिताइन् शान्ताले।
घरमा बस्नै नसक्ने भएपछि उनी माइत गइन्। तर, त्यहाँ पनि उनको एक्लोपना हटेन। उनी दिनरात रुने, एक्लै बस्ने, एक्लै बर्बराउने गर्न थालिन्।
माइत गएर पनि शान्ताको मन शान्त भएन।
एक दिन, रुँदै घरमा बसिरहेकी शान्तालाई सान्त्वना दिन भाउजूका भाइ आइपुगे। शान्ताको अवस्थाबारे उनी जानकार थिए। ‘सधैँ यसरी रोएर हुन्न, आफ्नाबारेमा सोच, यसरी जिन्दगी खेर फाल्नुहुँदैन’, भाउजूका भाइले सम्झाए।
‘पीडा भुलाउने औषधि छ नि !’, भाउजूका भाइको बोली पूरा नहुँदै शान्ताको मन अलिक शान्त भयो।
‘कस्तो औषधि ?’, शान्ताले प्रश्न गरिन्।
शान्ता जसरी पनि पीडाबाट मुक्ति चाहन्थिन्।
‘के मलाई त्यो औषधिले साँच्चिकै पीडा भुलाइदिन्छ त ?’, उनी उत्सुक भएर सोध्न थालिन्।
भाउजूका भाइले केही उत्तर नै नदिई आफ्नो खल्तीबाट बेरिएको पैसाको नोट निकाले अनि भने, ‘ल मुख खोल अनि लामो सास तान।’
उनले त्यो औषधि मुखमा राखिदिए। त्यो औषधि के हो भन्ने पनि नसोची उनले लामो स्वास तान्दै औषधि लिइन्।
केहीबेरपछि शान्तालाई लठ्ठ बनायो। शान्तालाई निकै आनन्द दियो, वरिपरिको दुनियाँ सबै रङ्गिन देख्न थालिन्।
कयौँ रात नसुतेकी शान्तालाई औषधिले निद्रा दिलायो।
उक्त औषधिको लत लाग्ला भन्ने कल्पनासमेत गरेकी थिइनन् उनले। न त त्यसभन्दा पहिले कुनै कुलतमा नै फसेकी थिइन् उनी।
विस्तारै उनलाई ती सोल्टीले लुकाइछिपाई नियमित रूपमा त्यही औषधि अर्थात् ब्राउन सुगर खुवाउन थाले। कारण, शान्तालाई दुःख बिर्साउने नभई ब्राउन सुगर खरिद गर्न शान्ताको पैसा धुत्नु थियो, जुन कुरा शान्तालाई पत्तो थिएन।
त्यो कुरा शान्ताले निकै पछि मात्रै थाहा पाइन्, जतिबेला उनलाई पैसाभन्दा बढी ब्राउन सुगर महत्त्वपूर्ण लाग्न थालेको थियो।
उनको नसानसामा लागुऔषध दौडिएको थियो।
घरपरिवार, आफ्ना बच्चा सबैबाट टाढिन थालिन् उनी। हिजोसम्म रोएर, बर्बराएर बस्ने उनी दिनरात सुत्ने भएकी थिइन्। आफैँलाई भुलेर उनी ब्राउन सुगर मात्र चिन्ने भएकी थिइन्। यो क्रम १ वर्षसम्म चलिरह्यो।
उनलाई लागुऔषधको नशा यसरी चढेको थियो कि उनी एकछिन खान नपाए पागल जस्तै व्यवहार गर्थिन्। उनलाई को आफ्नो, को पराई, के सही, के गलत, केही याद हुँदैनथ्यो।
उनको मन र मस्तिष्कमा परिवारभन्दा ब्राउन सुगर आउँथ्यो।
दिनहरू बित्दै गए। उनी लागुऔषध प्रयोगकर्तामा सीमित रहिनन्। त्यसकै कारोबारसमेत गर्न थालिन्। प्रयोगकर्ताकै सर्कलबाट उनले भारतको रक्सौलमा पुगेर ब्राउन सुगर ल्याउने, खाने, बेच्ने गर्न थालिन्। त्यो क्रममा शान्ताको प्रहरीका सईदेखि आर्मीको गाडी चलाउने ड्राइभरसम्म सँग चिनजान भयो। यसले उनलाई ब्राउन सुगर सीमा कटाउन सजिलो हुन्थ्यो।
सीमा नाकाबाट प्रहरीकै सहयोगमा लागुऔषध भित्र्याएको उनको स्मृतिमा अझै ताजै छ।
प्रहरीको आम्दानी स्रोत उनी बन्थिन्।
भारतको रक्सौलसम्म पुग्न उनी प्रहरी तथा आर्मीको गाडी, एम्बुलेन्सको प्रयोग गर्थिन्। यसरी ल्याएको ब्राउन सुगर घरमै राख्ने अनि घरबाटै सुन जोख्ने तराजुमा जोखेर ग्रामका दरले कारोबार गर्दै एक दिनमा झण्डै १ लाख रुपैयाँसम्मको कारोबार गरिन्।
उनका ग्राहक चितवन, पोखरा, काठमाडौंलगायतका ठूला शहरका सम्पन्न परिवारका केटा–केटी हुन्थे। विशेषगरी केटा धेरै।
यी सबै कुरा घरमा थाहा पाएपछि उनको परिवारमा आमाबाहेक अरू सबै जना उनीसँग डराउने भए। दाजु लाहुरे थिए तर बहिनीको हर्कत, उनको सङ्गतले गर्दा घर आउन मान्दैनथे। बाआमा अनि श्रीमतीलाई नै भेट्न बोलाउँथे।
लागुऔषधको कारोबार गर्दा उनले घरमा देखेजति र भेटेजति सबै मूल्यवान् वस्तुहरू बेच्न थालिन्। त्यसपछि घरमा सुनलगायतका गरगहना लाउनै छाडे। त्यति मात्र होइन, उनले आफ्नै जेठाजुका २ छोरालाई पनि लागुऔषध सेवन गर्न सिकाइन्।
जेठाजुका छोराहरू सुन पसलमा काम गर्ने भएकाले पैसा त्यति नभए पनि सुन हुने लोभले उनले जेठाजुका छोरालाई खान सिकाइन्। २ जनामा ब्राउन सुगरको नशा बस्दै गएपछि आफ्नै पसलको सुनको गहना चोरी गर्दै तीनै जना मिलेर ब्राउन सुगर लिन थाले।
शान्ता आफू मात्रै नभई अरूलाई लिन सिकाउने भएकी थिइन्।
उनी चोरीदेखि पैसाका लागि अन्य अपराधसमेत गर्न पछि नपर्ने भएकी थिइन्। एक दिन मात्र ब्राउन सुगर खान नपाउँदा उनी आफ्नो होस गुमाउँथिन्। रातमा पनि एक्लै चिच्याउँदै हिँड्ने, घरमा भएका सामान तोडफोड गर्ने, परिवारका सदस्यलाई कुटपिट गर्ने, चोरी गर्न थालिन्।
अतीतका गल्तीलाई उनी स्मरण गर्छिन्।
उनले लागुऔषधको कारोबार गर्दा रक्सौलबाटै रिभल्वर र गोलीसमेत किनेकी थिइन्। एक दिन आफूले ब्राउन सुगर लिन नपाएको झोँकमा आमालाई मार्ने निधो गरिन्। तर, उनका हात आमालाई रिभल्वर तेस्र्याउँदा थरथरी काँप्न थाले।
त्यसपछि रुँदै आमाकै हातमा रिभल्वर थमाएर आफैँलाई मारिदिन आग्रह गरिन्। छोरीको त्यो हर्कतले उनकी आमाको होस् उड्यो। आमाको मन न हो, आफैँले छोरीका ग्राहकसँग चिनजान गरेर ब्राउन सुगर खरिद गरीगरी खुवाउन थालिन्।
किनकि आमालाई आफ्नी छोरी बचाउनु थियो।
त्यस क्रममा उनकी आमाले धेरैको बचन सहनुप¥यो, वरिपरि चिनेजानेका सबैले उनलाई छोरी मारिदिन भन्थे। त्यति मात्र होइन, गाउँबाटै निकाला गरिदिनेसम्मका धम्कीहरू आउँथे।
आमालाई भएको अपमानले शान्ताको मनमा घृणा पैदा हुन थाल्यो। उनकी आमाले आफ्ना लागि गरेको सङ्घर्ष र मायाले भित्रभित्रै पोल्न थाल्यो। जिन्दगी नै ब्राउन सुगर हो भन्ने ठान्ने उनी अब भने एक असल छोरी बन्न चाहन्थिन्।
तर, परिवर्तन हुने कसरी ? उनी सोच्नमग्न हुन्छिन्।
सुरुसुरुमा उनलाई लत छाड्न निकै समस्या भयो। मानसिक सन्तुलन बिग्रन थाल्यो। राजधानीलगायतका ठूलाठूला अस्पतालमा उपचार गराउँदासमेत उनलाई ठीक हुने अवस्था देखिएन। सबैले हरेस खाएका थिए।
तर, सुध्रिनुपर्छ भन्ने अठोट नै शान्ताका लागि औषधि बन्यो।
त्यो अठोट त्यतिबेला सार्थक बन्यो, जतिबेला उनलाई महिला सुधार केन्द्र सञ्चालक पूजा निरौलाले परामर्श दिइन्। उनीसँगको एक बसाइ अनि आमाले आफ्ना लागि सहेको दुव्र्यवहार र दुःखले उनलाई पुनर्जीवन दियो। उनी विभिन्न सुधार केन्द्रमा ३ वर्ष बसिन्। त्यसपछि समाजमा ‘रिकभर्ड’ महिला बनेर बाहिर आइन्।
पूजाको परामर्शले शान्ताको जीवन ‘यू–टर्न’ भयो।
२०३१ सालमा जन्मिएकी उनी लागुऔषध प्रयोगकर्ता तथा कारोबारीबाट अहिले अभियन्ता बनेकी छन्। उनी अभियन्ता बनेको पनि १३ वर्ष भइसकेको छ। त्यतिबेला पनि चितवनमा पुरुषका लागि थुप्रै सुधार केन्द्र थिए तर महिलाका लागि भने छुट्टै सुधार केन्द्र थिएन।
त्यही आवश्यकतालाई ध्यानमा राखी दुव्र्यसनविरुद्ध उत्रने अभियानका लागि सुधार केन्द्रमा बसेर रिकभर भएका ९ जना महिला मिलेर २० हजार रुपैयाँका दरले रकम उठाई महिला पुनस्र्थापना केन्द्र सञ्चालन गरे।
२०६३ सालमा स्थापना भई सञ्चालनमा रहेको त्यस संस्थाको नाम हो, एकता नेपाल। यो संस्था चितवनको रामपुरमा छ। त्यहाँ अहिले पनि १३ वर्षदेखि ५२ वर्षसम्मका २१ जना दुव्र्यसनमा फसेका महिलाहरू छन्।
सुधार केन्द्रमा रहेका ती महिलाहरूलाई उनीहरूको व्यवहार र प्रकृतिअनुसार ३ देखि ६ महिना राखिन्छ।
उनका अनुसार पहिलेपहिले विभिन्न हिंसामा परेर, मानसिक तनावका कारण महिलाहरू दुव्र्यसनमा फस्थे तर पछिल्लो समयमा भने सामान्य औषधि पसल तथा मेडिकलबाट सजिलै सिरिन्जहरू किन्न सकिने, परिवारले धेरै खुला छाडिदिने, निगरानी नगर्ने, आवश्यकताभन्दा बढी पैसा दिने, आफैँ निर्णय लिन दिने, साथीको सङ्गत, लागुऔषध प्रयोग गर्ने रहर, पारिवारिक तनावलगायतका कारण रहेका छन्।
त्यस्तै, गएको ५–६ वर्षमा भने विशेषगरी १३ वर्षदेखि माथिका किशोरीहरूमा ‘लभ अफेयर्स’ अनि ‘ब्रेकअप’लाई कारण बनाई दुव्र्यसनीमा फस्नेहरू धेरै छन्।
अहिले दुव्र्यसनका प्रकारहरू पनि फेरिएको बताउँछिन् उनी। विभिन्न ट्याब्लेट, सिरिन्जलगायतका लागुऔषधहरू बजारमा छ्याप्छ्प्याती पाइने भएकाले पनि युवायुवतीहरू सजिलै लागुऔषधको दुव्र्यसनमा फस्ने गरेका छन्।
दृढ सङ्कल्पले पुनर्जीवन पाएकी शान्ता घले, अहिले आफ्नो सन्तानको मात्र आमा नभई एकता नेपाल संस्था र त्यससँग सम्बन्धित सबैकी आमा बनेकी छन्।
उनलाई आमाबाहेक सबैले ‘सानु दिदी’ भनेर चिन्छन्।
पहिले लागुऔषध प्रयोग गर्दा ‘तेरी छोरी मार्दे नत्र गाउँ निकाला गर्छौं’ भन्नेहरू अहिले आफ्ना छोराछोरीका बारेमा सल्लाह गर्न उनीसँगै आउँछन्।
शान्ताकी आमा हिजोकी र आजकी उही छोरी देखेर अहिले दंग पर्छिन्।
‘लागुऔषध दुव्र्यसनमा फसेकाहरूलाई नयाँ जीवन दिन धेरै पुनस्र्थापना तथा सुधार केन्द्रहरू बनेका छन्। तर, सुधार केन्द्रमा बसेर मात्र दुव्र्यसनबाट मुक्ति मिल्छ भन्ने सोच्नु गलत हो’, शान्ता भन्छिन्।
परिवारको साथ, सहयोग अनि आफूभित्र नै म परिर्वतन हुनुपर्छ भन्ने अठोटले मात्र पुनर्जीवन पाउने उनको अनुभव छ।
दुव्र्यसनमुक्त भएको १६ वर्ष बितिसक्यो शान्ताको, आफू जस्तै धेरै महिलाहरूलाई पनि पुनर्जीवन दिइसकेकी छन्, अझै प्रयासरत छन्।
जीवनको सबैभन्दा अमूल्य समय गुमाएकामा उनलाई निकै पछुतो छ। कुनै समय हरेस खाएकी शान्ता अहिले रेसमा हिँडेकी छन्। त्यति मात्र होइन, उनी ड्रग्स युजर्सहरूका लागि सुधारका लागि प्रेरणा पनि बनेकी छन्।


























