सुनसरी, कार्तिक २ । उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी सञ्जीव शर्मा दासले जानकारी दिए। एसपी दासका अनुसार दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ।
यस्तै करिव ३२ वर्षका पुरुष, ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भइ नसकेको उनले बताए। पहिचान नखुलेका उनीहरूको पनि घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ब्रेक फेल भएर स्कोरपिओ दुर्घटनामा परेको हुन सक्ने अनुमान गरेको छ।

























