चितवन, चैत ६ । कोरोना भाइरस संक्रमणको डरसँगै बजारमा दैनिक उपभोग्य समानमा कालो बजारी र महङ्गी बढेको छ। तर, उपभोक्ता भने महँगो मूल्य तिरेर पनि सामान किन्न तयार छन्। सरकारले भने कालो बजारी गर्नेलाई कारवाही गर्ने चेतावनी दिँदै आएको छ र गरेकाहरुलाई कारवाही पनि गर्दै आएको छ। तर, कालोबजारी भने रोकिएको छैन।
त्यसैले कालोबजारीको मारमा उपभोक्ता नपरून् भन्ने उद्देश्यले मितेरी जैविक प्याड उत्पादन केन्द्रले ‘मितेरी सेनिटाइजर’ उत्पादन थालेको छ। कोरोना संक्रमणबाट जोगिन महिलाहरूको समूहले हातमा लगाउने सेनिटाइजरको उत्पादन थालेको हो। चितवनका बजारमा करिब एक महिनादेखि जारी मास्क र सेनिटाइजरको अभावलाई मध्यनजर गर्दै मितेरी सेनिटाइजर उत्पादन गरेको केन्द्रकी अध्यक्ष सावित्री पौडेलले जानकारी दिइन्।
‘हामीले स्याम्पलका लागि स्वास्थ्य कार्यलय र औषधि विभागमा पठाएका थियौँ,’ उनले भनिन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सूत्रअनुसार सेनिटाइजर बनाइएको उनले बताइन्। उत्पादन भएको जानकारी पाएपछि भरतपुर महानगरपालिकाले पनि माग गरिसकेको उनले बताइन्। ‘उत्पादन थालेसँगै धेरै ठाँउबाट माग आइसकेको छ,’ उनले भनिन्, ‘हामीले आफ्नो उत्पादनलाई आइतबारदेखि बजारमा उपलब्ध गराउँदैछौँ।’ कोरोना भाइरस रोकथामको लागि मात्र नभई विभिन्न खालका जिवाणु नाश गर्न सेनिटाइजर उपयुक्त हुने उनको भनाइ छ।
उनका अनुसार हाललाई २५० मिलिलिटर, १०० मिलिलिटर र ५० मिलिलिटरको बोत्तलमा उत्पादन गरिएको छ। २५० मिलिलिटरको लागि जम्मा २५० रूपैयाँ मूल्य कायम गरिएको उनले बताइन्। यस्तै १०० मिलिलिटरको लागि १३० र ५० मिलिलिटरको लागि ७० रूपैयाँ मूल्य निर्धारण गरिएको उनको भनाइ छ।


























