चितवन, चैत ५ । चीनको वुहानलाई केन्द्रविन्दु मानेर विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बुधबार रातिसम्ममा मृत्यु हुनेको संख्या आठ हजार ७९१ पुगेको छ। सन् २०१९ को अन्त्यतिरबाट फैलिएको कोभिड–१९ चीनमा सुस्ताउँदै गए पनि अन्य देशहरूमा यसले भयावह रूप लिन छाडेको छैन।
जसकारण झनै त्रास फैलिरहेको छ। कोरोना भाइरसबारे सूचना दिँदै आएको ओर्ल्डोमिटरका अनुसार बुधबार राति याे समाचार तयार पार्दासम्म (नेपाली समयानुसार राति किरब पाैने १२ बजे)को तथ्यांकअनुसार विश्वभरका दुई लाख १३ हजार ६१७ जनामा यसको संक्रमण भएको पुष्टि भएको छ।
कोभिड–१९ पुष्टि भएकामध्ये छ हजार ६३६ जनाको अवस्था भने गम्भीर रहेको छ। संक्रमण पुष्टि भएकामध्ये ८४ हजार ३१४ जना भने निको भएर घर फर्किसकेका छन्। यो भाइरसले यतिबेला इटलीमा ठूलो रूप लिएको छ। अहिले चीनमा नयाँ बिरामी १३ जना देखिँदा इटलीमा भने चार हजारभन्दा बढी नयाँ बिरामी देखिएका छन्। त्यसपछि भने जर्मनीमा सबैभन्दा बढी नयाँ बिरामीको संख्या देखिएको छ।
जर्मनीमा मात्रै नयाँ बिरामीको संख्या दुई हजार ६०० भन्दा बढी देखिएको छ भने स्पेनमा दुई हजारभन्दा बढी देखिएको छ। त्यसपछि अमेरिका, इरान, हङकङलगायतका देशहरूमा नयाँ बिरामी बढ्दै गएका छन्। बुधबार रातिसम्मको तथ्यांकअनुसार १५ हजार ३२३ जना नयाँ बिरामी थपिएका छन् भने तीमध्ये छ हजार ६३६ जनाको अवस्था गम्भीर छ।


























