काठमाडौं, चैत ५ । आउँदो शुक्रबार रातिदेखि नेपालमा उडान भर्दै आएका १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान बन्द गर्ने भएको छ। सरकारले विदेशी नागरिकको आगमनमा थप कडाइ गर्ने निर्णय गरेसँगै ती एयरलाइन्सहरूले उडान रोक्न लागेको हो। कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार युरोपका सबै मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएपछि उडान रोकिन लागेको हो। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ विदेशी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले बिहान ६ देखि मध्यराति ३ बजेसम्म विभिन्न समयमा उडान गर्दै आएका छन्।
समितिले खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुलाई २० मार्च को मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिलसम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। आवागमनमा सरकारले दोस्रोपटक गरेको कडाइसँगै मध्यपूर्वका एयर अरेबिया, फ्लाई दुबई, यूएईको इत्तिहाद एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ। युरोप जोड्ने टर्किस एयरलायन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याथे ड्र्यागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार बिहानदेखि उडान रोकिने भएको छ। त्यस्तै मध्यपूर्वमा उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने छन्।
सरकारको निर्णयले भारत, थाइल्यान्ड, बंगलादेश, सिंगापुर र भुटानबाट नेपाल आउने तथा नेपालबाट यी मुलुक जाने एयरलाइन्सलाई रोकेको छैन। अस्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा रहेका नेपाली राहदानीवाहकले यी मुलुक हुँदै काठमाडौं आउन सक्नेछन्। हाल भारतबाट इन्डिगो, एयर इन्डिया र भिस्तारा एयरलाइन्सले काठमाडौंका लागि उडान गर्दै आएका छन् भने बंगलादेशबाट विमान बंगलादेश, थाइल्यान्डबाट थाई एयर र थाई लायन एयरले उडान गर्दै आएका छन्।
त्यस्तै चीनबाट आउने एयरलाइन्सलाई पनि यो निर्णयले रोकेको छैन। हाल चीनको ग्वाङजाउबाट चाइना साउर्दन, कुनमिङबाट चाइना इस्टर्न, छेन्दुबाट एयर चाइनाले नियमित नभई निश्चित दिन तोकेर उडान गर्दै आएका छन्। सरकारको यो निर्णयले नेपालको हिमालय एयरलायन्सले यात्रु अभावकै कारण तत्काल कतै पनि उडान गर्न सक्ने छैन।


























