काठमाडौं, चैत ४ । सामान्यतयाः आमालाई कुनै रोगको संक्रमण देखिए पेटभित्र भएको बच्चामा असर पर्न सक्छ भनिन्छ। त्यस्तै अहिलेको कोरोना भाइरसले पेटभित्रको बच्चालाई असर पुर्याउँछ कि पुर्याउँदैन भन्ने विषयमा धेरैको चासो र चिन्ता छ। धेरैले यस विषयमा बढी सोधखोज गरेपछि चिनियाँ–अमेरिकी अनुसन्धानकर्ताको टोलीले यस विषयमा अनुसन्धान गरेको थियो। उक्त टोलीले गरेको अनुसन्धानले कोरोना भाइरसबाट संक्रमित महिलाबाट जन्मेको बच्चामा भाइरसको संक्रमण नहुने पुष्टि भएको छ।
चिनियाँ जर्नल ‘फ्रन्टियर्स इन पेडियाट्रिक्स जर्नल’मा प्रकाशित उक्त अध्ययन प्रतिवेदनका अनुसार ‘ह्वान्झोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’का अध्ययनकर्ताले सो अनुसन्धान गरेका थिए। यसमा वुहान विश्वविद्यालयका अमेरिकी तथा चिनियाँ अध्ययनकर्ताहरूको पनि संलग्नता थियो। अध्ययन प्रतिवेदन ‘द लन्सेट जर्नल’ मा पनि प्रकाशित भएको छ। अनुसन्धानकर्ताले भाइरस संक्रमित आमाले बच्चा जन्माउँदा त्यसको संक्रमण शिशुमा नदेखिएको नतिजा सार्वजनिक गरेका हुन्।
उक्त अध्ययन कोभिड–१९ बाट संक्रमित चार जना गर्भवती महिलामा गरिएको थियो, जसले कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहानस्थित युनियन अस्पतालमा बच्चालाई जन्म दिएका थिए। गत महिना कोरोना भाइरसबाट संक्रमित गर्भवती महिलाले बच्चा जन्माएपछि अध्ययन सुरु गरिएको थियो। यो चीनमा भएको दोस्रो अध्ययन हो।
अध्ययनका क्रममा जन्मिएका सबै शिशुलाई एनआइसियुमा राखिएको थियो। तर ती कुनै पनि बच्चामा कोरोना भाइरस संक्रमणको लक्षण देखिएन। प्रतिवेदनअनुसार, एउटा बच्चामा तीन दिनसम्म श्वास प्रश्वाससम्बन्धी समस्या देखिएको थियो भने उक्त बच्चासहित अर्को एक बच्चामा केही दागहरु देखिएका थिए। तर, ती दाग र स्वास्थ्य समस्या आफैँ समाधान भए। जन्मिएका चार बच्चामध्ये ३ जनामा कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको थियो। तर, एक बच्चामा आमाको अनुमति नहुनाले परीक्षण गरिएको थिएन।
अहिले अध्ययन गरिएका चारवटै बच्चा र आमा पनि पूर्णरुपमा स्वस्थ भइसकेका छन्। चीनको वुहानलाई केन्द्रबिन्दु मानिएको भाइरसबाट विश्वव्यापी रुपमा अहिलेसम्म १ लाख ७० हजारभन्दा बढी संक्रमित भएका छन् भने ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ।


























