काठमाडौं, चैत्र २ । नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिन्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था नआउने बताएको छ। कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला निगमले यस्तो बताएको हो।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउने बताए। उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिको आइतबारको बैठकमा उनले भने, “आज मात्रै रक्सौलबाट ८६ बुलेट भन्सार पास भएर आउने क्रममा छन्।
त्यो भनेको १२ सय ८५ लिटर अर्थात् १ लाख सिलिन्डर हो। काठमाडौँका लागि ३८ र बाहिरका लागि ४८ वटा बुलेट छन्। त्योबाहेक भैरहवा, नेपालगञ्ज, काँकडभिट्टा र धनगढीबाट पनि भित्रिने गरेको छ।” उनले फागुन २८ र २९ गते ३ सय १ बुलेट अर्थात् ३ लाख ७५ हजार सिलिन्डर नेपाल भित्रिएको पनि बताए।
ग्यासको भण्डारण नभएका कारण माग बढी हुने बित्तिकै केही समस्या देखिने भए पनि अभाव नै नहुने उनको भनाइ छ।






















