चैत्र २ । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप युरोपियन युनियनका दुई ठूला देश स्पेन र फ्रान्सले इटालीको रणनीतिलाई पछ्याउँदै आपतकालीन प्रतिबन्ध लागु गरेका छन्।
स्पेनमा मानिसहरुलाई अत्यावश्यक सामग्री किन्न बाहेक घर बाहिर ननिस्कन भनिएको छ। घरायसी सामग्री तथा औषधि किन्न वा काममा जान बाहेक घर बाहिर निस्कन नपाउने नियम प्रशासनले लागु गरेको छ।
स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण १९१ जनाको मृत्यु भएको छ। स्पेनमा ६ हजार तीन सयजनामा संक्रमण भएको छ। यस्तै फ्रान्समा ९१ जनाको मृत्यु भइसकेको छ। फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा अधिकांश पसलहरु बन्द भएका छन्।
युरोपको सबैभन्दा बढी प्रभावित देश इटालीमा आउँदो सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु हुनेछ। इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण १४ सय ४० जना भन्दा बढीको मृत्यु भएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारीको ‘इपिसेन्टर’ अहिले युरोप रहेको बताएको छ।

























