काठमाडौं, फागुन २९ । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ। बुधबार ७४ अंकको उछाल देखिएको बजारमा बिहीबार ४५.९१ अंकको ब्रेक लागेको हो। आइतबार र सोमबारको सार्वजनिक बिमा पछि मंगलबार खुलेको सेयर बजारमा ६ प्रतिशतको गिरावटसँगै नेगेटिभ सर्किट लागेर बन्द भएको थियो।
तर, बुधबार भने बजारमा सुधार हुँदै करिब ७४ अंकको उछाल देखिए पनि बिहीबार नै त्यसमा ब्रेक लागेको हो। बुधबारको तुलनमा ३.२३ अंकको गिरावट आएको नेप्से बिहीबार १३७७.१८ अंकमा बन्द भएको छ। बिहीबार नेप्सेमा १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २० करोड ६६ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ।
बिहीबार पनि नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा नै लगानीकर्ताको आकर्षण देखिएको छ। नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १९ करोड ८२ लाख माथिको कारोबार भएको छ भने धेरै कारोबार हुने शीर्ष १० कम्पनीको सूचीमा वाणिज्य बैंकको वर्चस्व रहेको छ।
सबै उपसमूहमा ओरालो लागेको दिन नेप्सेमा निर्जीवन बिमा समूहका लगानीकर्ताले सर्वाधिक ५.०१ प्रतिशतले गुमाएका छन्। यस्तै माइक्रोफाइनान्स हाइड्रोपावर र वाणिज्य बैंक समूह ३ प्रतिशतभन्दा माथिले घटेको छ।
बिहीबार स्वाभिमान लघुवित्त लगानीकर्ताले सवार्धिक १० प्रतिशतले गुमाएका छन्। त्यस्तै राधि विद्युत् कम्पनी र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशत माथिले गुमाएका छन्।
बिहीबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ। सेन्सेटिभ इन्डेक्स बुधबारको तुलनामा ९.१९ अंकले घटेर २९५.५० मा झरेको छ।

























