काठमाडौं, फागुन २९ । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणको सजगता, रोकथाम तथा नियन्त्रणको लागि स्थानीय तहसँग सहयोग मागेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई पत्र पठाएर कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि समन्वयात्मक ढंगले काम गर्नुपर्ने भएकाले स्थानीय तहबाट जिम्मेवारीपूर्वक कामको लागि ११ बुँदे सहयोगको मागसहित सो अनुरोध गरेको हो।
विश्व स्वास्थ्य संगठनले हिजो, २८ फागुनमा कोभिड-१९ लाई विश्वव्यापी महामारी घोषणा गरेको छ।
स्थानीय तहलाई हिजै गरिएको लिखित अनुरोधमा नेपाल प्रवेश गर्ने मुख्य नाकाहरूमा स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन भनिएको छ।
त्यस्तै भोज, उत्सव, भीडभाड हुने सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुन आव्हान गर्ने, स्थानीय तहहरूमा रहेका सबै अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा छुट्टै शैय्याको व्यवस्था मिलाउने, कोरोनाको आशंका लागेका बिरामीलाई प्रदेश र केन्द्रीय अस्पतालमा रिफर गर्ने मन्त्रालयले अनुरोध गरेको छ।
मास्क, सेनिटाइजर, औषधि, दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामग्री को अभाव हुन नदिन बजार अनुगमनलाई बढाउने, सीमावर्ती क्षेत्रमा अत्यावश्यक काममा बाहेक आवतजावत नगर्न सूचित गर्न पनि स्थानीय तहहरूसँग अनुरोध गरिएको छ।
मानिसहरूको भीडभाड हुने सिनेमा हल, बसपार्क, पार्टिप्यालेस, अपार्टमेन्टहरूमा परीक्षणको लागि स्वास्थ्यकर्मी खटाउन पनि सरकारले अनुरोध गरेको छ।


























