काठमाडौं, फागुन २९ । तत्कालीन सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले पदबाट राजिनामा दिएपछि अन्यौलमा परेको चलचित्र विकास बोर्डमा अध्यक्ष नियुक्ति अलमलिएको छ। तत्कालीन अध्यक्ष केशव भट्टराईको हृदयघातका कारण निधन भएपछि नयाँ अध्यक्ष नियुक्त गर्नुपर्नेमा तत्कालीन मन्त्रीले पदबाट राजिनामा दिएपछि प्रक्रिया अगाडि बढ्न नसकेको हो।
उक्त मन्त्रालयको जिम्मेवारी अहिले अर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडाले सम्हालेका छन्। खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाले पनि बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया भने अगाडि बढाइएको छैन। प्रधानमन्त्री पूर्ण स्वस्थ भएर काममा नफर्किएसम्म प्रक्रिया अगाडि नबढ्ने स्रोतको भनाइ छ।
को-को छन् त अध्यक्ष बन्ने दौडमा ?
लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएपछि अहिले नयाँ अध्यक्षका लागि तीनजना चलचित्रकर्मी दौडधूपमा लागेका छन्। दयाराम दाहाल, लय संग्रौला र भुवन केसी अध्यक्ष बन्ने दौडमा छन्। तत्कालीन मन्त्री बास्कोटासँग राम्रो सम्बन्ध रहेका दाहाल बहालवाला बोर्ड सदस्य हुन्। गृह जिल्ला समेत एउटै रहेका तत्कालीन मन्त्री बास्कोटालाई दाहालले चुनावका बेला सहयोग गरेकाले बोर्ड अध्यक्ष बन्ने अपेक्षामा रहेका दाहालले बास्कोटाबाट फाइदा लिने भने नपाउने भएको छ। तर तत्कालीन अध्यक्ष भट्टराईले सुरु गरेका काम र योजनाबारे बढी जानकार भएकाले दाहालको सम्भावना अझै रहेको स्रोतले जनाएको छ।
उनीसँगै अध्यक्षमा दाबी गरिरहेको अर्को नाम हो, लय संग्रौला। चलचित्र र टेलिचलचित्रमा काम गरेका उनी सबैभन्दा धेरै टेलिसिरयल निर्देशन गर्ने निर्देशक आफू भएको दाबी गर्छन्। सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका खतिवडासँग उनको राम्रो सम्बन्ध छ। संग्रौला र खतिवडा एउटै जिल्लाका हुनुका साथै सहपाठी पनि हुन्। अहिले पनि उनीहरूबीच राम्रो सम्बन्ध रहेका कारण प्रधानमन्त्रीले हस्तक्षेप नगरे खतिवडाले संग्रौलालाई अध्यक्षका लागि आफ्नो रोजाइमा पार्न सक्ने स्रोत बताउँछ। पुरानो सम्बन्धको फाइदा उठाउन संग्रौलाले दौडधूप गरिरहेका छन्। उनी बास्कोटा सञ्चारमन्त्री हुँदा पनि अध्यक्षका लागि लबिङ गरिरहेका थिए।
अध्यक्षमा दाबेदारी दिने तयारी गरिरहेका अर्का व्यक्ति हुन्, नायक तथा निर्माता भुवन केसी। बास्कोटा सञ्चारमन्त्री भएका बेलादेखि नै लबिङ गरिरहेका केसी सीधै प्रधानमन्त्रीसम्म पहुँच राख्छन्। अरूले सञ्चारमन्त्रीसँग लबिङ गरिरहेका बेला केसीको पहुँच प्रधानमन्त्रीसम्म भएकाले त्यसको फाइदा उठाउन सक्ने स्रोत बताउँछ।
तत्कालीन नेकपा एमालेनिकट भुवन नेकपाका नेता माधव नेपालनिकट मानिन्छन्। तत्कालीन संविधानसभामा सभासदका रूपमा जान चर्को लबिङ गरेका उनी अहिले बोर्ड अध्यक्षका लागि पनि लबिङमा छन्। उच्च ।क्तचाप र मधुमेह रोगसँग जुधिरहेका तत्कालीन अध्यक्ष भट्टराईको मंसिर २९ गते (नियुक्ति पाएको ९ महिना) निधन भएसँगै पद खाली भएपछि अकांक्षीहरूले नियुक्तिका लागि लबिङ थालेका हुन्।


























