काठमाडौं, फागुन २८ । सरकारले जथाभाबी रुपमा औषधि नबेच्न निर्देशन दिएको छ। पछिल्लो समय कोरोना भाइरस फैलने डरले उपभोक्ताले औषधि पनि भण्डारण गर्न थालेको पाइएको भन्दै सरकारले जथाभाबी औषधि नबेच्न निर्देशन दिएको हो।
जथाभाबी खाइने औषधिले स्वास्थ्यमा असर गर्ने भएकाले डाक्टरको सिफारिसबिना औषधि नबेच्न पनि औषधि व्यवस्था विभागले निर्देशन दिएको छ। विभागले बिरामी पुर्जी तथा बिलबीजकको परीक्षण गर्दा अनावश्यक रुपमा औषधि बेचेको पाइए कारबाही गर्ने चेतावनी पनि दिएको छ।
यस्तै भारतले निर्यातमा रोक लगाएको भनिएका १३ प्रकारका औषधिका कच्चा पदार्थ तथा तयारी औषधि अभाव नरहेको र विकल्पमा औषधि पर्याप्त रहेकाले किनेर नथुपार्न पनि विभागले आग्रह गरेको छ।
पछिल्लो समय ह्याण्ड स्यानिटाइजर (हात सफा गर्ने तरल पदार्थ), मास्क (मुखावरण) र औषधिको अभाव हुन नदिन उत्पादक, पैठारीकर्ता, थोक बिक्रेता र खुद्रा बिक्रेतासँग छलफल भइरहेको पनि विभागले जनाएको छ।


























