काठमाडौं, फागुन २८ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासका कारण मनोरञ्जन दुनियाँलाई पनि असर परेको छ। हलिउड र बलिउडका रिलिज हुन लागेका चलचित्रहरु धमाधम पछि सरेका छन्। यसको असर नेपाली चलचित्र बजारमा पनि परिरहेको छ।
केही दिन अगाडि मात्र चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले कोरोना त्रासकै कारण चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि पछि सारेको थियो। अब, चैत्रको ७ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘निरफूल’को प्रदर्शन मिति पनि पछि सारिएको छ।
निर्माणपक्षले कोरोनाको त्रासकै कारण चलचित्र पछि सार्नुपरेको बताएको छ। नेपाल सरकारले सभा, सम्मेलन नगर्नु र भीडमा नजानु भनेर नागरिकलाई सजग गराइसकेको छ।
यसैले, संचारकर्मी फूलमान वलको निर्देशनमा तयार भएको चलचित्रको प्रदर्शन मिति सारिएको हो। यो चलचित्रको प्रदर्शन मिति फागुण ३० गते तोकिएको थियो, तर ‘म यस्तो गीत गाउँछु २’ यो मितिमा आउने भएपछि एक साता पछि सारिएको थियो।
यो चलचित्रमा दयाहाङ राई, शान्ती वाइबा, बुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ।


























