बाँके, फागुन २८ । बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्।
बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा मंगलबार राति करिब १२ बजेतिर लागेको आगोमा जल्दा त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएका छन्।
शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई उपचारका लागि भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
आगलागी बुधबार बिहान ८ बजेमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।
आगलागीबाट उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ। बाँके र बर्दियाका छ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको निरन्तरताको प्रयासले आठ घण्टापछि मात्रै आगो नियन्त्रणमा लिइएको थियो।
उक्त उद्योगमा चप्पल, सरसफाइ ब्रस र पोछालगायतका सामग्री उत्पादन हुँदै आएको थियो। होली पर्वमा कामदार बिदामा रहेका कारण आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन सकेको छैन।


























