काठमाडौँ, फागुन २८ । भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको पर्चा भेटिएको छ।
बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको घरमा बम विस्फोट भएको प्रहरीले बताएको छ।
घटनास्थलमा चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्विकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ।
बाँस्कोटाको निर्माणाधीन घरको पूर्वतर्फको पर्खालमा राखिएको बम विस्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा पनि फुटेका छन्।
विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ। साथै बाँस्कोटाको घर अगाडि रहेको एउटा भ्यानमा पनि विस्फोटबाट क्षति पुगेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। घटनाबारे अनुसन्धान भइरहेकाले ठिमी वृत्तका डीएसपी शान्तिराज कोइरालाले अहिले केही नबोल्ने बताए।
चन्द समूहलाई प्रतिबन्ध लगाएको आज एक वर्ष पुगेको छ। २०७५ फागुन २८ गते सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै पक्राउ र खोजी कार्य जारी राखेको छ।


























