काठमाडौं, फागुन २५ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फिनाले काठमाडौं उपत्यकामा हुने भएको छ। ललितपुरको बालकुमारीस्थित आफ्नै स्टुडियोमा कमेडी च्याम्पियनको फिनाले हुने निर्देशक विशाल भण्डारीले जानकारी दिए।
उनकाअनुसार फिनाले हेर्नका लागि इसेवामार्फत तीन हजार शुल्कको टिकट लिनुपर्नेछ। आउँदो चैत १ गते शनिबार अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म तीन घण्टा हुने फिनाले कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र अभिनेता राजेश हमाल पनि सहभागी हुने निर्देशक भण्डारीले जानकारी दिए। कमेडी च्याम्पियनको विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त फाइनलका पुगेका हुन्।
यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए। मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्। कमेडी च्याम्पियनको विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ।

























