फागुन, २५। सातौँ संस्करणको महिला टी ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ।आईतबार भएको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो।
मेलबर्न स्तिथ एमसीजीमा १ सय ८५ रनको लक्ष्य पछाएको भारतले १९ ओभर १ बलमा ९९ रन बनाउँदा अल आउट भयो। भारतको लागि दिप्ती शर्माले ३३ रनको सर्वाधिक इनिङ्स खेलिन्।
यस्तै भेडा क्रिश्नामुर्तीले १९, रिचा घोसले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
अष्ट्रेलियाकी मेगान स्चुट्टले ४ तथा जेस जोनासेनले ३ विकेट हात पारिन्।

यसअघि अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो। अष्ट्रेलियाको ठुलो स्कोरमा बेथ मोनीले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ्स खेलिन्। ५४ बल खेलेकी मोनीलले १० चौका प्रहार गरिन्।
यस्तै एल्स्या हेलीले आक्रामक ७५ रनको अर्धशतकीय इनिङ्सको योगदान गरिन्। उनले ३९ बलमा ७ चौका र ५ छक्का प्रहार गरिन् ।
कप्तान मेग लानिन्नले १६ रन बनाउँदा निकोला केरी ५ रनमा अविजित रहिन्।
भारतकी दिप्ती शर्माले २ तथा पुनम यादब र राधा यादबले समान १र१ विकेट लिए।
यससंगै अष्ट्रेलियाले महिला टी ट्वान्टी विश्वकपको उपाधि पाँचौं पटक जितेको छ। महिला टी ट्वान्टी विश्वकपमा सर्वाधिक उपाधि जित्ने राष्ट्र अष्ट्रेलिया हो।
अष्ट्रेलिया बाहेक इंग्ल्याण्ड र वेष्ट इण्डिजले १/१ पटक विश्व विजेता बनेका छन्। अष्ट्रेलियाले सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप जितेको थियो।


























