मुम्बइ, फागुन २५ । भारतको समस्याग्रस्त घोषणा गरिएको “यस बैंक”का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ। भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ।
भारतको केन्द्रीय बैंकले आकस्मिक रुपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो। पछिल्ला दिनहरुमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि सङ्कट आएको थियो।
भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका छन्।
जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेपछि पक्राउ गरिएको हो। यस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टि गरेको छ।
अधिकारीहरुले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेको थियो।
भारतीय रिजर्भ बैंकले यस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकहरुमा निराशा छाएको छ। मानिसहरु यस बैंकका एटीएम र शाखाहरुमा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए।
रिजर्भ बैंकको उद्धार योजना बमोजिम भारतीय स्टेट बैंक (एसबीआई) ले समस्याग्रस्त “यस बैंक”को ४९ प्रतिशत शेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ। एसबीआर्ईका अध्यक्ष रजनिश कुमारले यस बैंकमा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरुची देखाइसकेको पनि जानकारी दिए।
यस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पूँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाइ छ। यस बैंकका एक हजारभन्दा बढी शाखा र एक हजार ८०० भन्दा बढी एटीएम छन्।


























