काठमाडौं, फागुन २५ । हेमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने प्रहरी निरिक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेल विभागीय कारबाहीमा परेका छन् । प्रारम्भिक छानबिनमा गल्ती देखिएपछि प्रहरी परिसर ललितपुर तानिएका इन्स्पेक्टर पौडेल विभागीय कारबाहीमा परेका हुन् । उनले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
प्रहरी प्रधान कार्यालयबाट निर्देशनपछि ललितपुर प्रहरी परिसरले छानविन शुरु गरेको थियो। निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो। सोहि समितिले प्रहरी नियमावली बमोजिम कारबाही सिफारिस गरेको हो। प्रहरी नियमावलीमा दर्जा घटुवा, बढुवा रोक्का गर्न सक्ने र नसिहत दिने व्यवस्था रहेको छ।
हेम खत्रीको घरमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर पौडेल महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट प्रहरी परिसर ललितपुर तानिएका थिए।
हेमालाई गत साता भैसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको निवासमा प्रहरीले निर्मम कुटपिट गरेको थियो। माला शाह नाम गरेकी एक महिलाले आफुलाई हेम खत्रीले लामो समय सम्बन्धमा रहेर धोका दिएको दावी गर्दै खत्रीको घर घेर्न केही अधिकारवादीलाई लिएर पुगेकी थिइन्।
जसमा दुधे बालक च्यापेर हेमा पनि पुगेकी थिइन्। घरबाट महिलाहरुलाई निकाल्नेक्रममा इन्स्पेक्टर पौडेलले बालक च्यापिरहेकी हेमालाई लखेटी लखेटी पिटेका थिए। भैँसेपाटी प्रहरी प्रभागका प्रमुख पौडेल आफै घटनास्थल पुगेर महिलामाथि हातपातमा उत्रिएका थिए।






















