दैनिक तीन लाख लिटर दूध उत्पादन हुने चितवनमा करिब ५० प्रतिशत दूध चितवनभित्रै खपत हुने दुग्ध उत्पादक सहकारी संस्थाको तथ्यांक छ। संघमा आवद्ध १०८ वटा सहकारीमार्फत किसानले दूध जम्मा गर्दै आएका छन्। चितवन जिल्ला दूधमा आत्मनिर्भर छ भन्ने कुराको लागि यो तथ्याङ्क पर्याप्त छ।
थोरैमा चारसयदेखि बढीमा आठसयसम्म किसान एउटा सहकारीमा आवद्ध छन्। दूधमा आत्मनिर्भर बन्दै गएपछि मानिसहरू अन्य पेसा छाडेर पनि पशुपालन क्षेत्रमा लागेका छन्। स्थानीय सरकारले पनि ठाउँअनुसार पशुपालन क्षेत्रमा अनुदानको राम्रो व्यवस्था गर्न थालेकोले यसतर्फ आकर्षित भएका हुन्।
तर, दूधमा आत्मनिर्भर भए पनि दाना चोकरमा भने आत्मनिर्भर बन्न सकेको छैन, जसको समस्या किसानले भोग्दै आएका छन्। करिब दुई महिनादेखि चोकरको मूल्य आकासिएपछि चितवनका किसान थप चिन्तामा छन्। दुई महिनाअघि जम्मा एक हजार रूपैयाँ पर्ने चोकर (४० किलोको बोरा) अहिले एक हजार सातसय रूपैयाँ पर्छ।
दूधको लागत मूल्य उठाउन पनि मुस्किल भएपछि पटकपटक ‘मिल्क होलिडे’ गरेर आन्दोलन गरेका दुग्ध उत्पादक किसानले फेरि अर्को आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना भएको छ।
यस विषयमा किसानले शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा मौखिक जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले किसान र चोकर व्यापारीलाई एकै ठाउँमा राखेर सामान्य छलफल गरेका छन्।
किसानले चोकर व्यापारीले मूल्य बढाएको आरोप लगाउँदै आएका छन् भने चोकर व्यापारीले मिलबाटै मूल्य बढेर आएकोले चोकरको मूल्य वृद्धि भएको बताएका छन्। खाद्यवस्तु भन्दा महँगोमा चोकर किन्नुपरेको भन्दै तत्काल मूल्य घटाउन किसानले आग्रह गरिरहेका छन्।
यसरी अनायाशरूपमा भएको चोकरको मूल्य वृद्धिलाई राज्यतर्फबाटै नियन्त्रण गर्नुपर्ने किसानहरूको माग छ। सामान्य हिसाबले मूल्य समायोजन नभए किसानसँग छलफल गरेर आन्दोलनकै बाटो रोज्न बाध्य हुने किसानको चेतावनी छ।
यदि समयमै मूल्य समायोजन नभएमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा जिल्लाभरका दुग्ध उत्पादक किसानलाई समेटेर विकल्पको रूपमा आन्दोलनका कार्यक्रम ल्याउनुपर्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ छ।
प्रति लिटर जम्मा चार रूपैयाँ मूल्य बढ्दा थोरै भए पनि राहत महसुस गरेका किसानले तुरुन्तै चोकरमा प्रतिकिलो १५–२० रूपैयाँ मूल्य वृद्धिको सामना गर्नुपरेको छ। यस्तो अवश्थामा दूधको मूल्य वृद्धि गरियो भनेर खुशी हुने ठाउँ नै नभएको किसानको गुनासो छ।
खासगरी दूधमा आत्मनिर्भर भए पनि दूध उत्पादनको लागि गाई भैँसीलाई खुवाउने चोकर भने चितवनमा बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ। यहाँ सानासाना दुईवटा मिल छन्, तर ती दुईवटा मिलबाट भएको उत्पादनले चितवनका सबै किसानलाई पुग्दैन। जसले गर्दा किसानबाटै विकल्पको खोजी गर्नुपर्ने बेला आएको छ।
साना किसानले आफ्नै घरमा प्रयोग हुँदै आएको मकै, गहुँ, गेडागुडीलगायतका अन्नबालीका बोक्रालाई चोकरको रूपमा प्रयोग गर्ने र चोकर र परालको खपत कम गराउन घाँसखेतीको विकास गर्न सके चोकर किन्नै पर्ने बाध्यता कम हुन सक्छ। आफूलाई परेको समस्याबाट आफैँले विकल्प खोज्नुपर्छ।
दुध उत्पादक किसानहरूमा देखिएको यो अवस्थाले बताउँछ कि दूधको आत्मनिर्भरतालाई कायम राख्न यसको लागि आवश्यक दाना-चोकरको उत्पादनमा पनि चितवनलाई आत्मनिर्भर बनाइनुपर्छ। अहिले आफ्नै जिल्लामा आवश्यकताअनुसारको उत्पादन हुन नसक्दा बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता छ।
त्यसैले चितवन जिल्लामा नै चोकर उत्पादन हुने मिल सञ्चालन गर्न सके बाहिरबाट ल्याउनुपर्ने बाध्यता बिस्तारै कम हुँदै जान्छ। आफ्नै जिल्लामा चोकर उत्पादन हुन नसक्दा बाहिरी जिल्लाका मिलवालाले मैदा नबिकेको बहानामा चोकरमा मूल्य वृद्धि गराएका छन्। मान्छेले खाने आँटा र मैदा बिक्री भएन भन्दैमा गाईवस्तुले खाने चोकरमा मूल्य वृद्धि गर्न त पाइएन नि।
किसानलाई कहीँबाट पनि सहज छैन। त्यसैले त किसान सधैँ आन्दोलनमै निस्कन बाध्य हुन्छन्। अहिलेसम्म किसानले आन्दोलन गरेरै कृषि पेसालाई जोगाइराखेका छन्। किनकि आन्दोलनको विकल्प नै छैन। दूधको मूल्य बढाउन पनि आन्दोलन नै गर्नु पर्याछ, दाना चोकरको मूल्य नबढाऊ भनेर पनि आन्दोलन नै गर्नु पर्याछ, बाहिरबाट गाई नल्याऊ भनेर पनि आन्दोलन नै गर्नु पर्याछ। आखिर किसानले कहिलेसम्म आन्दोलन गरिरहने ?
(चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेसँग गरिएको कुराकानीमा आधारित सामाग्री )
























