टेक्सस, फागुन २३ । अमेरिकाको टेक्ससस्थित एक वालमार्ट सुपरमार्केटमा बेच्न राखिएको आइसक्रिम चाट्दै गरेको भिडिओ सामाजिक सञ्जालमा हाल्ने एक व्यक्तिलाई ३० दिन जेल सजाय सुनाइएको छ।
सो भिडिओ २४ वर्षीय डीएड्रियन एन्डरसनले सन् २०१९को अगस्ट महिनामा सामाजिक सञ्जालमा अपलोड गरेका थिए। भिडिओमा उनले आइसक्रिम चाटेर फ्रिजमा फिर्ता राखेको देखिन्छ।
पसलको सीसीटीभी क्यामेरामा भने उनले भिडिओ खिचिसकेपछि सो आइसक्रिम झिकेर किनेको देखिन्छ। उनलाई अदालतले ६ महिनाको निलम्बित जेल सजाय, १०० घन्टाको ज्याला नपाउने काम, १ हजार अमेरिकी डलर जरिबाना र आइसक्रिम कम्पनीलाई १ हजार ५६५ डलर तिर्नुपर्ने आदेश सुनाएको बिबिसीले जनाएको छ।
अमेरिकी टिभी एबीसीका अनुसार एन्डरसन र उनका बाबुले प्रहरीलाई सो आइसक्रिम किनेको बिल देखाएका थिए। तर भिडिओ सार्वजनिक भएपछि आइसक्रिम कम्पनी ब्लू बेल क्रिमरीज्ले सो फ्रिजको सबै आइसक्रिम फेरेको थियो।
एन्डरसनले अदालतमा आफूबाट गल्ती भएको स्वीकारेका थिए।


























