काठमाडौं, फागुन २३ । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ झन् महँगो हुँदै गएको छ।
सुनको भाउ शुक्रबार तोलामा १८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। कोरोना भाइरसका कारण विश्व नै आर्थिक मन्दीतिर गइरहेकाले लगानीकर्ता सुनतिर आकर्षित भएका हुन्।
लगानीकर्ता सुनमा आकर्षित हुँदा सुन अन्तर्राष्ट्रिय बजारमै महँगो भएको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा झन् महँगो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ। अन्तर्राष्ट्रियस्तरमा नेपालको विनिमय दर भारतीय रुपैयाँमा भर पर्ने भएकाले असर गरेको हो।
यो हप्तामात्रै सुनको भाउ तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको छ। हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार घटबढ भएन। मङ्गलबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको भाउ बुधबार भने एकैदिन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको थियो।
बिहीबार फेरि तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो तोलाको ८२ हजार पाँच रुपैयाँ पुगेको हो।
चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।


























