काठमाडौं, फागुन २३ । विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ।
विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन्। चीनमा मात्रै संक्रमित हुनेको संख्या पनि सबैभन्दा धेरै अर्थात ८० हजार ५ सय ३२ छ।
चीन बाहेकका १४ देशमा ३ सय ४१ जनाले ज्यान गुमाएका छन्। बेलायतमा पनि एकजनाको कोरोनाकै कारण ज्यान गएको छ।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन्।
गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन्। रोयल बर्कशायर अस्पतालमा उपचार गराइरहेकी ती महिला बेलायतमै हुँदा सङ्क्रमित भएको बेलायतका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिक व्हिट्टीले बताए।
बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो।
चीनपछि सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या इटालीमा पुगेको छ। कोरोनाकै संक्रमणबाट इटालीमा अहिलेसम्म एक सय ४८ जनाले ज्यान गुमाएका छन्। इटालीमा कोरोना संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ। त्यस्तै इरानमा १ सय ७ जनाले ज्यान गुएमा छन्। इरानमा अहिले सम्म ३ हजार ५ सय १३ मा संक्रमण फैलिएको छ।
त्यस्तै दक्षिण कोरियामा पनि कोरोना संक्रमण फैलनेक्रम बढेको छ। अहिलेसम्म ४२ जनाले ज्यान गुमाएका छन् भने ६ हजार २ सय ८४ जना संक्रमित छन्।
त्यस्तै जापानमा १२, अमेरिकामा १२, फ्रान्समा ७, स्पेनमा ३ हङकङमा २ र इराकमा पनि २ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरि ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स, स्वीटजरल्यान र बेलायतमा एकएक जनाले ज्यान गुमाएका छन्।


























