काठमाडौं, फागुन २२ । पछिल्ला केही दिन बेस्सरी घटेको सेयर बजार बिहीबार सम्हालिने प्रयास गरेको छ। तथापि, बजारमा बिहीबार निकै उतारचढाव आएको छ। नेप्से केही बढ्न खोज्यो बेचिहाल्ने प्रवृत्ति हावी भएको फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरहरु बताउँछन्। सोही कारण उतारचढाव धेरै भएको हो। नेप्से छिनमै हरियो अनि छिनमै रातो हुनेक्रम कारोबार अवधिभर चलिरह्यो। यस साता औसतमा बजार बेस्सरी घटेकाले पनि आम लगानीकर्ता त्रसित भएका हुन्। फेरि घट्छ कि भन्ने मनोविज्ञान उनीहरुमा हावी भएको हो।
अनलाइनबाट आफैं कारोबार गर्नेहरु अझै बढी आवेगमा आउने प्रवृत्ति देखिएको छ। उनी बढ्दा किनिहाल्न हौसिने अनि तल झर्दा बेच्न आत्तिने प्रवृत्तिका कारण पनि बजारले गति लिन नसकेको ब्रोकरहरुको भनाई छ। यसर्थ, थोरै दिनमै बेस्सरी घटेको बजार सम्हालिन केही समय लाग्ने गर्छ। किन भने पहिला पेनिक लगानीकर्ताले बेचेर भ्याइसक्नुपर्ने हुन्छ। त्यसपछि बजार फेरि वृद्धिको आफ्नै लयमा फर्किन सक्ने विश्वास गर्न सकिन्छ।
विश्लेषकहरुका अनुसार छोटो समयमा बजार बेस्सरी बढेकाले अल्पकालीन कारोबारीले नाफा बुक गरेका हुन्। उनीहरुले नाफा बुक गर्दा तत्कालका लागि बजारमा बिक्री चाप देखिएको हो। सेयर बजार तलमाथि गरिरहन्छ। यो बजारको स्वभाविक नियम हो। यसर्थ, लगानीकर्ताले अल्पकालीन सूचक भन्दा पनि दीर्घकालमा बजार कता जान्छ भनेर अध्ययन गर्न उपयुक्त हुन सक्छ। समग्रमा बजारले माथिल्लो गति समाउने अपेक्षा गरिएको छ।
तथापि, तलमाथि गर्दै नेप्सेले उकालो यात्रा तय गर्ने हो। बैंक ब्याजदर घट्दैछ। सूचीकृत कम्पनीहरुले औसतमा नाफा बढाएका छन्। बजारको ४२ महिना लामो वियरिस यात्रा पनि समाप्त भएको विश्लेषण भइरहेको छ। यी यावत् तथ्यहरुका कारण सेयर बजारको आगामी दिनहरु सुखद् हुने अपेक्षा गर्न सकिन्छ। तर बजार सधैं एउटै रेखामा हिँड्दैन भन्नेमा पनि लगानीकर्ताले ख्याल गर्न आवश्यक छ।
नेप्से सूचक ५.५० अंकले घटेर १४३५.७० विन्दुमा अडिएको छ। १७९ कम्पनीको २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ५९ लाख ४० हजार ५३३ कित्ता सेयर खरिदबिक्री भएका छन्। कुल १२ समूहको सेयर कारोबार भएकामा ५ समूहका सूचक बढेका छन् भने बाँकी समूह तल झरेका छन्। जीवन बिमा समूह सबैभन्दा धेरै ७७.८५ अंकले बढेको छ। यता, वाणिज्य बैंक समूहको सूचक भने १४.२४ अंकले तल आएको छ।
खरिदबिक्रीमा नेपाल लाइफ इन्सुरेन्सले अग्रता कायम गरेको छ। यसको ३७ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। खरिदबिक्री रकममै दोस्रोमा एनएमबि बैंक र तेस्रोमा एनआइसी एसिया परेका छन्। मञ्जुश्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १०५ का दरले कमाएका छन्। यस दिन लघुवित्त समूह पनि माथि लागेको छ। सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले ९.६९५ का दरले गुमाएका छन्।


























