चितवन, फागुन २२ । दोहोरी गीत भन्ने बित्तिकै पुरूष र महिला आवाज अनिवार्य जस्तै हुन्छ। तर, यसपटक गायक रेशम सापकोटाले केही समयअघि मात्रै सार्वजनिक गरेको गीत ‘ब्यूटिफूल’मा भने महिलाको भूमिकामा पनि पुरूष कलाकारले नै गीत गाएका छन्।
तरेली संगीत कुञ्जबाट बजारमा ल्याएको गीतमा स्याङ्जाली गायक श्याम रानामगरले महिला आवाज दिएका छन्। त्यतिमात्र नभई गायक मगरले महिला बनेर अभिनयसमेत गरेका छन्।
मगरले नेपाल घुम्न आएकी विदेशी पर्यटकको भूमिका निभाएका छन्। उनले विदेशी लवजमै सापकोटासँग दोहोरी गाएका छन्। केटाले ‘खैरो खैरो कपाल, वेल कम टु यु नेपाल’ भन्दा केटीले पनि नेपालीमै दोहोरी फर्काउँछिन्, ‘कालोकालो कपाल, कति राम्रो नेपाल।’

समयअनुसार फरक फरक खालको सांगितिक प्रस्तुति दिन खप्पिस रेशम सापकोटाले यसपटक श्याम रानालाई महिला बनाएर थप नयाँ बनाउन खोजेका छन्।
दुई दशकभन्दा लामो समयसम्म लोकदोहोरी क्षेत्रमा बिताएका गायक सापकोटाले करिब २०५५/०५६ ताका ‘बम्बैको कोठीमा’ एल्बममार्फत स्रोताको मन जितेका थिए। त्यसपछि उनी स्रोताको मन मस्तिष्कमा बस्न सफल भएका छन्।
उनले हालसम्म दर्जनौँ चर्चित गीत गाइसकेका छन्। उनी तरेली संगीत कुञ्जका सञ्चालकसमेत हुन्। गीत हेर्न तलकाे लिङ्कमा जानुहाेस्।


























