काठमाडौं, फागुन १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार प्रकरणको अनुसन्धानका लागि एसएसपी सहकुल थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको छ।
महानगरीय अपराध महाशाखाका एसएसपी थापाको नेतृत्वमा परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटी सदस्य छन्। महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको आदेशमा गठन भएको समितिले घटनाको अनुसन्धान गर्नेछ।
आइतबार तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि तिरुवाले राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गरेका थिए।
रतनले प्रहार गरेको जुत्ता भने प्रचण्डलाई लागेको थिएन। रतनले आफु सहिद परिवारको भएको र माओवादी संघर्षका क्रममा आफ्ना बुबाको ज्यान गएको बताएका छन्। यद्यपी सत्तारुढ नेकपा जुम्लाले भने रतन सहिद परिवारको सदस्य नभएको दाबी गरेको छ। रतनविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
उनी डल्लुमा बसेर लोकसेवा आयोगको तयारी गरिरहेका थिए। प्रचण्डले जनयुद्धकालीन समयमा गरेका कुरा र अहिले गरेको व्यवहार चित्त नबुझेको भन्दै रतनले जुत्ता प्रहार गरेको प्रहरीलाई बयान दिएका छन्।


























