हुम्ला, फागुन १७ । हुम्लाको चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ।
टेलिफोन अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट बञ्चित भएका छन्। चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध बनेको हो।
माघ ८ गतेदेखि अवरुद्ध बनेको टेलिफोन सेवा मर्मत नहुँदा स्थानीय टेलिफोन सेवाबाट वञ्चित भएका हुन्। टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, दार्मा, पुमा, मासिधारालगायत गाउँका स्थानीयवासी सञ्चार सेवाबाट बञ्चित बनेको दार्माका सपना ऐडीले बताइन्। टेलिकमका प्राविधिक आएर मर्मत गर्न खोज्दा मर्मत हुन नसकेर उनीहरु फिर्ता गएको ऐडीले बताइन्।
गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन्।
गाउँमा टेलिफोन सेवा अवरुद्ध हुँदा वल्र्डलिङ्कबाट सामाजिक सञ्जालमा जोडिने गरेको यहाँका स्थानीयवासी बताउँछन्। यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ।
मोबाइलमा नेटवर्क देखाउने तर फोन नलाग्ने स्थानीयवासी कुसुम बुढाले बताए। रासस


























