फागुन १७ । अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच शनिबार कतारको दोहामा शान्ति सम्झौता हुँदैछ।
३० देशका राजदूतलाई साक्षी राखेर हुन लागेको शान्ति सम्झौतापछि १८ वर्षदेखि अफगानिस्तानमा रहेका अमेरिका सैनिक फिर्ताको मार्ग खुल्नेछ।
सम्झौताअघि अमेरिकी राष्ट्रपति कार्यालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा सार्वजनिक गरेको छ।
‘यदि अफगानी सरकार यो सम्झौताका बुँदाप्रति प्रतिबद्ध देखिए भने अफगानिस्तानको युद्ध अन्त्य हुने र अमेरिकी सैनिक फिर्ता हुने बाटो खुल्नेछ।’ ट्रम्पको भनाई उदृत गर्दै ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सम्झौतापछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर र अफगानिस्तान सरकारले संयुक्त वक्तव्य जारी गर्नेछन्। तालिबानले सन् १९९६ देखि सन् २००१ सम्म अफगानिस्तानमा शासन गरेका थियो।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा संलग्न ओसामा बीन लादेन लुकाएको आरोपमा अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेपछि तालिवान सरकार ढलेको थियो।
यद्यपी तालिवानी समूहको सरकार ढले पनि उसले अफगानिस्तानमा शसस्त्र युद्ध गर्दै आएको थियो।
झण्डै दुई दशकको युद्दपछि अमेरिका र तालिवानका प्रतिनिधिले २९ फेब्रुअरीमा शान्ती सम्झौता गर्ने सहमती गरेका थिए।
सोही सहमतीलाई शुक्रबार राती ट्रम्पले अमेरिकी प्रतिनिधिलाई सम्झौता गर्न अनुमति दिएका थिए। सम्झौताका लागि शुक्रबार राति नै अफगान सरकारले ६ सदस्यीय टोली कतार पठाइसकेको छ।


























